२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

१० वर्षमा पनि पुल नबनेपछि स्थानीयवासी आन्दोलित, ठेकेदार र हाकिमलाई कारबाहीको माग

Untitled
Untitled
Untitled

तनहुँ । गण्डकी प्रदेशलाई तराई जोड्ने छोटो दुरीको बुद्धसिंह मार्गमा १० वर्षदेखि पुल निर्माण नभएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन् । यस मार्गमा पर्ने आँबुखैरेनी–५ र भरतपुर–२९ घुमाउने जोड्ने त्रिशूली नदीमाथि निर्माण भई रहेको पुल दश वर्ष पुरा हुँदा पनि बन्न सकेको छैन ।

ठेकेदारको बदमासी र नियमन गर्ने कार्यालयका प्रमुखको मिलेमतोले गर्दा स्थानीयवासीले सास्ती खेप्नु परेको भन्दै तत्काल कारबाही गरेर पुल निर्माण गर्न माग गरेका छन् । पुल नहुँदा दैनिक सयौँ स्थानीयहरू आवतजावतलाई समस्या भएको भन्दै आन्दोलित भएका छन् । आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका र देवघाट गाउँपालिकाका सम्बन्धित भूगोलका बासिन्दा आन्दोलित भएका हुन् ।

बन्दिपुर गाउँपालिका– ६ मा हालै भेला भएका स्थानीय बासिन्दाले माग पुरा नभए कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन् । उपभोक्ताले  बन्दै गरेको वा बन्ने प्रक्रियामा रहेको पाँच वटा मोटरेवल पुलको निर्माण कार्यलाई गति दिन माग गरेका छन् । उक्त मार्गमा रहेका नदी खोलामा पुल निर्माणका लागि दबाब दिन स्थानीय स्तरबाट गठित सङ्घर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले राज्यको उदासीनता र ठेकेदारको लापरबाहीले गर्दा घुमाउनेमा निर्माणाधीन पुल ११ वर्ष देखी अलपत्र रहेको बताउनुभयो  । उहाँले घुमाउने पुल सहित सुँढेखोला पुल, ढाँड खोला पुल, खानी खोला पुल, बगर खोला पुल र भुतखोला पुलको निर्माणमा ढिलासुस्ती भएकोले अन्त्य गर्न स्थानीय जनताले दबाब दिन थालेको बताउनुभयो ।

मगरले ग्रामीण क्षेत्रका सर्वसाधारण जनतालाई जे गरे पनि हुन्छ भन्ने मानसिकताले निर्माण कार्यमा ढिलाइ भईरहेकोले आन्दोलनमा उत्रिन बाध्य बनाइएको बताउनुभयो । तनहुँ जिल्लाको यस विकट भेगबाट ठूलाठूला ओहोदाका नेताहरू पाए तर जनताले प्रत्यक्ष अनुभूति हुने गरी विकास हाल सम्म नपाएको गुनासो गर्नुभयो  ।  पुल निर्माणको लागि दबाब दिन आगामी पुस २७ गते घुमाउने पुल निर्माण स्थानमा हजारौँ स्थानीय जनताको दबाब भेला आयोजना गर्ने निर्णय भएको संयोजक मगरले बताउनुभयो ।

घुमाउनेमा पुल निर्माण पूरा नहुँदा गण्डकी प्रदेशको राजधानी पोखरालाई तराईसँग पृथ्वी राजमार्गको विकल्पका रूपमा जोड्ने छोटो दूरीको मार्ग सञ्चालनमा ल्याउन पाइएको छैन । विसं २०७१ असारमा पुल निर्माणका लागि सम्झौता भएको थियो तर पुल अहिलेसम्म फाउन्डेसनकै चरणमा छ । अहिलेसम्म दुईतिरको भागमा पिल्लर मात्रै ठडिएको छ । सडक डिभिजन कार्यालयले सम्झौता अनुसार पनि काम नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने पटक पटक बताउँदै आएपछि खुरुखुरु म्याद थप गर्दै आएको स्थानीयले गुनासो गरेका छन्  । डिजाइन एन्ड विल्डका आधारमा ठेकेदार कम्पनीले नै तयार गरेको डिजाइन अनुसार पुल १ सय ५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ ।

आधुनिक ‘आर्क’ डिजाइनमा बन्ने पुलको लागत आठ करोड २६ लाख रुपियाँ छ । दोहोरो लेनको पुलमा ७।५ मिटर गाडी हिँड्ने भाग रहने डिजाइनमा उल्लेख छ । हेडौंडास्थित मृत सञ्जीवनी निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार हालसम्म ३० प्रतिशत मात्रै काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

सम्झौता भएको लामो समयसम्म पनि पुलले गति लिन नसक्दा यात्रुलाई सास्ती हुनुका साथै इन्धनमा हुने खर्च कटौती हुन सकेको छैन ।  सडक डिभिजन कार्यालय दमौलीकी प्रमुख राजीव श्रेष्ठले पुलको डिजाइन परिवर्तन गर्न लागिएकाले पुल निर्माणको काम रोकिएको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, यस वर्षको वर्षायामा नदीमा आएको बाढीले पुल्लर डुबाएकोले डिजाइन परिवर्तन गर्नुपर्ने देखिएकोले काम रोकिएको हो ।’ पुल महाशाखालाई पत्राचार गरेर पुलको छिटो डिजाइन गरेर पठाउन भनिएको श्रेष्ठले बताउनुभयो । अहिलेको डिजाइनबाट बाढीले क्षति हुने देखिएको राज्यको लगानी खेर नजाओस् भनेर परिवर्तन गर्न लागेको श्रेष्ठ बताउनुहुन्छ । निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा पुलको कामले गति लिन नसकेको सम्बन्धित निकायमा पनि पटक पटक ध्यानाकर्षण गराइएको भए पनि एक दशक  सम्म पनि पुल अधुरो रहेको  आँबुखैरेनी गाउँपालिकाका वडा नम्बर ५  का वडाध्यक्ष दिलीप गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, ‘अनेक वाहाना बनाएर पुल निर्माणमा ढिलाइ गरिएको छ अति नै भएकोले दबाब दिन आन्दोलन गर्नु पर्ने देखिएको छ ।’

दमौलीबाट घुमाउने घाटमा पुल बन्दा नारायणगढबाट बुद्धसिंह मार्ग हुँदै दमौली जान अहिलेको दूरीभन्दा ३०  किलोमिटर छोटो हुने भएकोले इन्धन आयातमा धेरै रकम जोगाउन सकिने पुल चाँडै निर्माण गर्नुपर्ने वडाध्यक्ष गुरुङको भनाई छ । पुलको निर्माणपछि नारायणगढ आउन पोखरा, बागलुङ, पर्वत, बेनी, स्याङ्जा र दमौलीका बासिन्दाले डुम्रे, आँबुखैरेनी र मुग्लिङसम्मको थप ३० किलोमिटर सडक प्रयोग गर्नु पर्दैन ।

Untitled
Untitled
Untitled