एजेन्सी, कोपा अमेरिकामा उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार बिहान भएको खेलमा बोलिभियामाथि ५–० को एकतर्फी जीत निकालेको उरुग्वे एक खेल अगावै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
स्टार खेलाडी लुई सुवारेजलाई अन्तिम केही मिनेट मात्रै मैदान उतारेको उरुग्वेको प्रदर्शन उत्कृष्ट रह्यो ।
न्यू जर्सीमा भएको खेलमा फुकान्डो पेलिस्ट्रीले आठौं मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाए ।
अधिकांश समय आफ्नो नियन्त्रणमा बल राखेको उरुग्वेले २१ औँ मिनेटमा दोस्रो गोल गरेको थियो ।
डार्विन नुनेजले अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २ गोल गरेको उरुग्वेले दोस्रो हाफमा अरु ३ गोल थपेको थियो ।
७७ औँ मिनेटमा म्याक्सिमिलानो अरुगोले गोल गर्दै अग्रता तेब्बर बनाए । ८१ औँ मिनेटमा फेडरिको भालभार्डेले गोल गरेपछि उरुग्वे ४–० ले अघि बढेको थियो ।
फराकिलो जिततर्फ अग्रसर उरुग्वेका लागि ८३ औँ मिनेटमा सुवारेज नुनेजलाई प्रतिस्थापन गर्दै मैदान प्रवेश गरेका थिए ।
८९ औँ मिनेटमा रोड्रिगो बेन्टानकुरले गोल गरेपछि जारी कोपामा उरुग्वेले सर्वाधिक फराकिलो ५–० को जित दर्ता गर्न सफल भयो ।
जितसँगै उरुग्वे ६ अंकका साथ शीर्ष स्थानमा रहँदा अमेरिका र पानामा समान तीन तीन अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।
लगातार दुई खेलमा पराजित भएको बोलिभिया भने अंकविहीन हुँदै पुच्छारमा रहेको छ ।
अब समूह चरणको अन्तिम खेलमा अमेरिका र उरुग्वे भिड्दा बोलिभिया र पानामा आमने सामने हुने छन् ।
समूह चरणको अन्तिम खेल जुलाई २ तारिखमा हुने छ ।


































