२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रोहितसँग विवाद गर्ने तान्जिमलाई आइसीसीको कारवाही

Untitled
Untitled
Untitled

एजेन्सी, जारी आइसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपालसँगको खेलमा विवाद गर्ने बंगलादेशी तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आइसीसी )ले कारबाही गरेको छ ।

बुधबार भएको उक्त खेलमा आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई आइसीसीले कारबाही गरेको हो । तान्जिमले अब आफ्नो म्याच फिको १५ प्रतिशत जरिवाना तिर्नुपर्नेछ ।

आचारसंहिताको २.१२ को व्यवस्था खेलाडी, उनीहरूका सहयोगी, अम्पायर, म्याच रेफ्री वा दर्शकसँग अन्तर्राष्ट्रिय खेलका दौरान अस्वाभाविक शारीरिक स्पर्शसँग सम्बन्धित छ ।

मैदानमा रहेका आइसीसीका अम्पायरद्वय अहसन राजा र साम नोगाज्स्कीसँगै तेस्रो अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनाले तान्जिमलाई उक्त कारबाही गर्नुपर्ने ठहर गरेका थिए ।

तान्जिमले पनि आफूले गरेको गल्ती महसुस गरेको र आइसिसीको कारबाही स्वीकारेको बताइएको छ ।

अम्पायर रिची रिचार्डसनले तन्जिमविरुद्ध कारबाही सिफारिस गरेका थिए । बंगलादेशले दिएको लक्ष्य पछ्याउनेक्रममा तेस्रो ओभरमा उक्त घटना भएको थियो ।

तान्जिमले नेपाली कप्तान रोहितकुमार पौडेलसँग अनावश्यक विवाद गरेका थिए । ओपनर कुशल भुर्तेललाई ४ रनमा बोल्ड र अनिलकुमार साहलाई शून्यमा क्याच आउट गर्दै उनले डबल विकेटमेडन राखेका थिए ।

त्यसपछि तान्जिमले पिचको मध्य भागमा आएर रोहितलाई केही भने । लगत्तै रोहितले आक्रोशित भावमा उनलाई जवाफ फर्काए ।

तान्जिमले रोहितलाई हातले धक्कासमेत दिएका थिए । त्यसपछि तान्जिमलाई लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोके ।

उक्त घटनालगत्तै अम्पायरले बंगलादेशका कप्तान नाजुमल हसन सान्तोलाई बोलाएर केही भनेका थिए ।

रोहितसँग अनावश्यक विवाद गर्न खोजेको भन्दै समर्थकले सामाजिक सञ्जालमा तान्जिमको चर्को आलोचना गरिरहेका छन् ।

यद्यपि रोहितले भने उनीसँग खासै ठूलो विवाद नभएको प्रतिक्रिया दिए । ‘त्यो समयमा तान्जिमले मलाई आफ्नो बलमा रन जोड्न भने ।

अनि मैले जाऊ बलिङ गर भनेको थिए । अरू त्यस्तो केही भएको होइन’, रोहितले खेल सकिएपछि त्यसबारे प्रष्ट पारे ।

तान्जिम र रोहित भिडेको खेलमा नेपाल २१ रनले पराजित भयो । उक्त खेलमा तान्जिमको बलमा रोहित एक रनमा क्याच आउट भए ।

​तान्जिमकै घातक बलिङका कारण पनि बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा ८५ रनमै अलआउट भयो ।

नेपाल विश्वकपमा दोस्रोपटक बंगलादेशसँग पराजित भएको हो । सन् २०१४ को विश्वकपमा बंगलादेशसँग नेपालले ८ विकेटको पराजय बेहोरेको थियो ।

Untitled
Untitled
Untitled