काठमाडौं, ओमानमा जारी एसिसी प्रिमियर कप टी–२० प्रतियोगितामा नेपालले तेस्रो खेलमा आज हङकङको सामना गर्दैछ ।
नेपाल र हङकङबीचको खेल सोमबार बिहान ११ः४५ देखि ओमान क्रिकेट एकेडेमीको मैदानमा सुरु हुनेछ ।
जारी प्रतियोगितामा नेपाल लगातार तेस्रो जीतको खोजीमा छ । नेपालले पहिलोमा मलेसियालाई ५ विकेट तथा दोस्रो म्याचमा कतारलाई ३२ रनले हरायो ।
नेपाल हङकङविरुद्ध पनि सहज जीत निकाल्दै एक खेलअगावै सेमिफाइनलमा पुग्न चाहन्छ ।
हङकङले दुई खेल खेल्दा एकमा जीत र एक खेलमा पराजय बेहोरेको छ । उसले पहिलोमा कतारलाई २६ रनले हराउँदा दोस्रो खेलमा साउदी अरेबियाविरुद्ध ५५ रनले पराय बेहोर्यो ।
हेड टु हेड हेर्दा हालसम्म नेपाल र हङकङले ११ टी–२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले ६ तथा हङकङले ४ खेलमा जित निकालेको विगत छ ।
यी दुई टिमबीचको एक खेल भने रद्द भएको छ । यसपटक हङकङको टिममा बाबर हयात, निजाकत खान, अंकुशमन रथ, एहसान खानलगायत नाम चलेका खेलाडी छन् ।
यता नेपालको टोलीमा सन्दीप लामिछानेबाहेक गत संस्करणको प्रिमियर कप खेलाडी अधिकांश खेलाडी छन् ।
गत प्रिमियर कपमा हङकङ समूह चरणबाटै बाहिरिएको थियो । नेपालमा आयोजना भएको सो प्रतियोगितामा हङकङले समूह चरणमा चारमध्ये दुईमा जित र एक खेलमा अंक बाँड्यो ।
५ अंक जोडेको ऊ समूह ‘बी’ मा तेस्रो भयो । नेपाल भने गत संस्करणको विजेता टिम हो ।
नेपालले फाइनलमा यूएईलाई सात विकेटले हराउँदै उपाधि जितेको थियो । नेपाल यसपटक पनि उपाधि जितेर एसिया कपमा स्थान बनाउने लक्ष्यमा छ ।
हङकङविरुद्धको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले सोमबार विवेकुमार यादवको स्थानमा करण केसीले मौका पाउने सम्भावना रहेको हो ।
विवेकले कतारविरुद्ध ४ बलमा ५ रन मात्र बनाएका थिए । अनिलकुमार साह र प्रतिश जिसीले भने तेस्रो खेलमा पनि प्लेइङ–११ मा मौका पाउने सम्भावना कम छ ।


































