एजेन्सी, युइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा लिभरपुल फराकिलो अन्तरले विजयी भएको छ ।
बिहीबार राति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुललाई जित दिलाउन डर्विन नुनेजले २ गोल गर्दा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक एक गोल गरेका थिए ।
स्पार्ता प्रागले उपहार गोलमार्फत अग्रता कम गरेको थियो । छैटौँ मिनेटमा म्याक एलिस्टरले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
२५ औँ मिनेटमा नुनेजले अग्रता दोब्बर बनाए । उनैले पहिलो हाफको अतिरिक्त तेस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा पहिलो हाफमा लिभरपुल ३-० ले अघि बढेको थियो ।
४६ औँ मिनेटमा लिभरपुलका कोनोर ब्राड्लेले आत्मघाति गोल गरेपछि स्पार्ताले अन्तर ३-१ मा झारेको थियो ।
५३ औँ मिनेटमा डियान र दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा स्जोबोसजलाईले गोल गरेपछि लिभरपुल अन्ततः ५-१ को जितका साथ पहिलो लेगमा विजयी भयो ।
दोस्रो लेग मार्च १५ तारिखमा हुने छ ।


































