काठमाडौं, एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाल ‘ए’ टिमले आज क्यानडा इलाभेनको सामना गर्दैछ ।
यी दुई टिमबीचको निर्णायक खेल बिहान साढे ९ बजेदेखि मूलपानी क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । सिरिजमा दुवै टिमले एक/एक खेल जितेका छन् ।
श्रृंखलाको पहिलो खेलमा क्यानडा इलाभेन तथा दोस्रो खेलमा नेपाल ‘ए’ विजयी भएको थियो । बिहीबार खेल जित्ने टिम सिरिज आफ्नो पक्षमा पार्नेछ ।
नेपाल ‘ए’ क्रिकेट इतिहासमा पहिलो सिरिज खेलिरहेको हो । अब ऊ डेब्यू सिरिज नै आफ्नो पक्षमा पार्दै इतिहास रच्न चाहन्छ ।

नेपाल ‘ए’ ले जारी सिरिजमा ठीकठाक प्रदर्शन गरिरहेको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरे पनि नेपालले क्यानडालाई अन्तिमसम्म टक्कर दियो ।
दोस्रो खेलमा नेपाल ‘ए’ ले थप उत्कृष्ट प्रदर्शन गर्दै दुई विकेटको रोमाञ्चक जित निकाल्यो ।
मंगलबार भएको खेलमा क्यानडाले दिएको २४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा ८ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कार्यवाहक कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले ।
सो खेलमा सन्दीपले ७४ बलमा सात चौका र एक छक्काको सहयोगमा सर्वाधिक ६६ रन बनाए ।
यस्तै, अविजित रहेका बसिरले ७० बलमा चार चौका र एक छक्कासहित ५२ रनको इनिङ खेले । उनको यो लगातार दोस्रो अर्धशतकीय पारी हो ।

साथै, जारी श्रृंखलामा राशिद खान पनि राम्रो लयमा छन् । पहिलो एकदिवसीयमा ४० रन जोडेका उनले दोस्रो खेलमा ४७ रनको महत्वपूर्ण इनिङ खेले । साथै, राशिदले दुई खेलमा तीन विकेट पनि लिएका छन् । उनी निर्णायक खेलमा पनि उच्च प्रदर्शन गर्दै टिमलाई सिरिज दिलाउन पूरा कोसिस गर्नेछन् ।
यस्तै, ओपनिङ ब्याटर अर्जुन कुमालले दोस्रो खेलमा ४० रनको पारी खेल्दै सन्दीप जोरासँग शतकीय साझेदारी गरेका थिए । नेपाल ‘ए’ ले तेस्रो खेलमा प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गर्ने सम्भावना छ ।

निर्णायक खेलमा नेपालले मयन यादव, रिजन ढकाल र किरण ठगुन्नालाई बाहिर राखेर विनोद भण्डारी, आशुतोष घिरैया र हेमन्त धामीलाई मौका दिने सम्भावना रहेको हो ।
नेपालको सम्भावित प्लेइङ–११ : अर्जुन कुमाल, आशुतोष घिरैया, सन्दीप जोरा, विनोद भण्डारी (कप्तान/विकेटकिपर), बसिर अहमद, राशिद खान, शेर मल्ल, विवेककुमार यादव, सागर ढकाल, शाहब आलम र हेमन्त धामी ।


































