२०८३ असार ८ सोमवार | Monday, Jun 22 2026

अझै शुरु भएन फेवातालको तालबाराही मन्दिर पुनर्निर्माणको काम

Untitled
Untitled
Untitled

लेखनाथ, आठ महिनाअघि भत्काइएको पोखरा फेवातालको बिचमा रहेको तालबाराही मन्दिरको पुनर्निर्माण अझै सुरु भएको छैन ।

पुनर्निर्माण गर्ने भन्दै गत चैतमा मन्दिर भत्काइएको थियो । योजना अनुसार मङ्सिरभित्रै मन्दिर पुनर्निर्माण सकिनुपर्ने थियो ।

२०७२ सालको भूकम्पका कारण मन्दिर दक्षिणतर्फ तीन इन्च ढल्किएको थियो । तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले बनाएको गुरुयोजना अनुसार कात्तिक ९ गते मन्दिर निर्माण शिलान्यास भयो ।

तर, पुरातìव विभागको स्वीकृति नलिई बनाइएको गुरुयोजनाका कारण अहिले निर्माणको कार्य रोकिएको छ । पुरानो मन्दिर भत्काएपछि अहिले नजिकैको हवनकुण्डमा पूजाआजा गरिँदै आएको छ ।

मूल मन्दिर नहुँदा तालबाराही पुग्ने धेरै तीर्थालु निराश हुने गरेका छन् । मन्दिर दर्शन गर्न आइपुगेकी मोरङकी शान्ता पराजुलीले हवनकुण्डमा पूजा गर्दा नमिठो लागेको सुनाए ।

“भूकम्पमा क्षति भएको भन्ने सुनेँ । आठ वर्षमा पनि पुनर्निर्माण नसकिएको देख्दा मन अमिलो भयो,” उनले भने ।

मूल मन्दिर नहुँदा तालबाराही मन्दिर जानेहरू घटेका छन् । फेवातालमा अहिले सात सयभन्दा बढी डुङ्गा छन् ।

मन्दिर विक्रम संवत् १४४७ मा निर्माण भएको विभिन्न अभिलेखमा उल्लेख छ । भत्काइएको प्यागोडा शैलीको मन्दिर २०१७ सालमा निर्माण भएको थियो ।

व्यवस्थापन समितिले बनाएको गुरुयोजनामा मन्दिरको चार रोपनी क्षेत्रमा अन्डरग्राउन्डसहितको मुख्य मन्दिर बनाउने उल्लेख छ ।

सो अन्डरग्राउन्डमा फूलका पसल राख्ने योजना थियो । प्राडा भरतराज पहारी नेतृत्वको सात सदस्यीय टोलीले गुरुयोजना बनाएको थियो ।

पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले सो समितिले स्वीकृतिबिना अनुपयुक्त गुरुयोजना बनाएको बताए ।

तालबाराही मन्दिर परम्परागत स्वरूपमै निर्माण गर्नुपर्ने विभागले प्रस्ट पारेको छ । “शिलान्यासमा जाँदा परम्परागत ढाँचामा ठुलो परिवर्तन हुने देखिएपछि हामीले काम रोक्न निर्देशन दिएका छौँ,” उनले भने ।

पुनर्निर्माण सकिनुपर्ने समयसम्म कामै सुरु नभएको मन्दिरको निर्माण अब सुरु हुने समितिका अध्यक्ष हिम्मतबहादुर कुँवरले बताए ।

समितिको गुरुयोजना अनुरूपका काम रोकी पुरानै स्वरूपमा मङ्सिरभित्रै निर्माण थालिने उनको भनाइ छ ।

मन्दिर पुरानो शैलीमा निर्माणका लागि गत वर्ष एक करोड ४४ लाख रुपियाँको लागत अनुमान गरिएको थियो ।

अब सोही लागत अनुसार मन्दिर निर्माण गरिने भएको छ । अब प्राविधिक टोली र पुरातìवका इन्जिनियरसँग समन्वय गरी काम गरिने बताए ।

पुरातìवले मन्दिरभित्र केही परिवर्तन गरे पनि बाहिर पहिलाकै मन्दिरको जस्तो संरचना बनाउन भनेको छ । मन्दिरका झ्याल, ढोका, टुँडाल, मूर्तिहरू पहिलाका जस्तै राखिने समितिले जनाएको छ ।

मन्दिर पुनर्निर्माणका लागि समितिले अहिले चन्दा उठाइरहेको छ । मन्दिरको भेटी, दान, दक्षिणा सबै पुजारीले नै लैजाने गरेका छन् ।

मन्दिर सञ्चालनका लागि रहेको राजगुठीको सेदीको करिब २४ रोपनी जग्गा पुजारीले बाँडेर उपभोग गरिरहेका छन् ।

यस्तै पोखरा महानगरपालिका–१८ मा रहेको अर्को ७१ रोपनी जग्गा चार परिवारले उपभोग गरिरहेका छन् ।

पोखरा महानगरपालिका–५ मा रहेको १८ रोपनी नौ आना जग्गामध्ये आधाभन्दा बढी व्यक्तिको नाममा दर्ता भएको देखिएको र ११ आना मन्दिरको नाममा आएको व्यवस्थापन समितिका अध्यक्ष कुँवरले जानकारी दिए ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति अध्यक्ष सुनील पाण्डेले मन्दिरको भेटी, जग्गाको सदुपयोग गर्नुपर्ने र चाँडै मन्दिर निर्माण थाल्ने बताए ।

“मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता भएको, भेटी सबै पुजारीले लैजाने र पुनर्निर्माणका लागि चन्दा माग्ने अवस्था देखिएको छ ।

भेटी व्यवस्थापन निर्देशिका अनुसार काम गर्नु जरुरी छ,” उनले भने ।

 

Untitled
Untitled
Untitled