काठमाडौ, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । तराई क्षेत्रका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।
महाशाखाका अनुसार, आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
यस्तै, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली भएको छ । मौसम बदली भएका ठाउँमा पनि पानी पर्ने सम्भावना नरहेको महाशाखाका मौसमविद् रोजन लामिछानेको भनाइ छ ।
बिहान–बेलुका चिसो छ । चिसोबाट हुन सक्ने असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध गरेको छ ।
काठमाडौं आज बिहानको न्यूनतम तापक्रम ६ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
बादल लागेका कारण हिजो बिहानको तुलनामा आज न्यूनतम तापक्रम शून्य दशमलव ५ डिग्री बढेको छ । हिजो यही समयमा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री रहेको थियो ।


































