२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पत्रकार भानु बोखिमले ल्याए उपन्यास ‘गोधूलि गीत’

Untitled
Untitled
Untitled

काठमाडौ, आख्यानकार तथा पत्रकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ सार्वजनिक भएको छ।

दश वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको उपन्यास शनिबार कवि श्यामल, आख्यानकार नवीन विभास र कवि नरेन्द्रकुमार नगरकोटीले संयुक्त रुपमा विमोचन गरे।

कार्यक्रममा भानु बोखिमसँग पत्रकार एवं निबन्धकार दीपक सापकोटाले अन्तर्क्रिया पनि गरेका थिए।

कार्यक्रममा ‘गोधूलि गीत’ युद्धको सजीव दस्तावेज भएको श्यामलले बताए। ‘सरल भाषामा माओवादी युद्ध बुझ्न यो उपन्यास पढ्नुपर्छ’, उनले भने, ‘अति सामान्य मान्छेको युद्धकालीन आख्यान हो यो, जसलाई थाहा छ व्यवस्था ठिक छैन, अत्याचार ठिक छैन, परिवर्तन चाहिन्छ। जीवन्त रुपमा युद्धको अक्षरीकरण गर्छ उपन्यासले।’

कार्यक्रममा आख्यानकार विभासले उपन्यास रोल्पाका ईश्वरी बुढामगर, धनबहादुर, कुमार, खड्गबहादुरहरुको जीवनको एक समयको भयानक कथा भएको बताए।

उनले भने, ‘कसरी ईश्वरी बुढामगरहरु र ईश्वरीका बा धनबहादुरहरु विद्रोह गर्न पुग्छन् ? परिवर्तनको लागि इमानदार मान्छेहरु, जो ससाना सपनाहरु बोकेर युद्धमा सामेल भए, ती कसरी तड्पिए र पिल्सिएरु तिनका जिन्दगीमाथि किताबले प्रश्न गरेको छ।’

किताबमाथि अन्तर्किया

लेखकसँगको अन्तर्क्रियात्मक कार्यक्रममा निबन्धकार सापकोटाले सोधेका थिए, ‘युद्धका असरबीचको यात्रापछि रोल्पा र तपाईंको पात्र ईश्वरीलाई कस्तो देख्नुभयो ?’ जवाफमा बोखिमले भने, ‘कसैलाई युद्ध मन परोस् वा नपरोस्, यसले कसैलाई लाभ होला कसैलाई क्षति, तर युद्धले सबै जनतालाई भयानक असर गरेकै हुँदोरहेछ’।

उनले आफ्ना पात्रहरू भयानक संकटबाट गुज्रिएको बताए। कलम प्रकाशनले प्रकाशन गरेको उपन्यासको मूल्य ६९५ रहेको छ।

Untitled
Untitled
Untitled