२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आन्तरिक राजश्व विभागद्वारा संशोधित सूचना जारी, ‘पटके’को ठाउँमा ‘प्राकृतिक व्यक्ति’ राखियो

Untitled
Untitled
Untitled

काठमाण्डौ, आन्तरिक राजश्व विभागले धितोपत्र बिक्री गर्दा लिइने लाभकरका विषयमा थप प्रस्ट पार्न बिहीबार अर्को संशोधित सूचना जारी गरेको छ।

यसअघि बुधबार विभागले एक सूचना जारी गर्दै धितोपत्र बिक्री गर्दा हुने लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने प्रस्ट पारेको थियो।

तर, उक्त सूचनामा नियमित व्यवसायी नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साबिक बमोजिम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने साविकको व्यवस्थामा कुनै परिवर्तन नभएको प्रस्ट पारिएको थियो।

विभागले आज जारी गरेको संशोधित सूचनामा भने ‘पटके’को ठाउँमा ‘प्राकृतिक व्यक्ति’ भनेर संशोधित सूचना जारी गरेको हो।

विभागको संशोधित सूचनामा भनिएको छ। ‘नियमित व्यवसायको रुपमा नभई प्राकृतिक व्यक्तिले लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ।

त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ताको जानकारीका लागि यो सूचना जारी गरिएको छ।’

यसअघि आजै आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीलाई भेटेर बुधबारको सूचनाबाट लगानीकर्ताहरु थप अन्यौलमा परेको जानकारी गराएका थिए।

लगानीकर्ताहरुसँगको छलफलमा महानिर्देशक मैनालीले बुधबारको सूचनामा संशोधन गर्दै पटकेको ठाउँमा प्राकृतिक व्यक्ति राख्ने र सोहीअनुसार अर्को सूचना प्रकाशित गर्ने जानकारी गराएका थिए।

छलफलमा सहभागी एक लगानीकर्ताले भने, ‘प्राकृतिक व्यक्ति भन्नाले आमलगानीकर्ता र नियमित व्यवसायी भन्नाले कम्पनी दर्ता गरी धितोपत्र कारोबार गर्ने संस्था वा कम्पनी रहेको पनि महानिर्देशक मैनालीले प्रस्ट पार्नुभएको छ।

यसले आमलगानीकर्ताले अब साबिककै पुँजीगत लाभकर तिरे पुग्ने प्रस्ट हुन्छ।’

Untitled
Untitled
Untitled