काठमाण्डू, देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले आज ९शुक्रबार० देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने पूर्वानुमान गरेको छ।
महाशाखाका अनुसार दिउँसो हिमाली तथा पहाडी भूभागका केही स्थान र तराईका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने भएकाले हिमाली भेगमा यात्रा गर्ने तथा पर्वतीय गतिविधिमा संलग्न हुनेहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि मनसुनी प्रणालीको प्रभाव कायम रहने जनाइएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाका साथै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, ती प्रदेशका पहाडी क्षेत्र तथा देशका केही तराई भूभागमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ।
विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
भारी वर्षासँगै नदी तथा खोलामा जलसतह बढ्न सक्ने, पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा होचा भूभागमा डुबानको जोखिम रहने भएकाले स्थानीय बासिन्दा, यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।
महाशाखाले वर्षासँगै मेघगर्जन र चट्याङको जोखिम पनि रहने भएकाले खुला स्थानमा अनावश्यक रूपमा नबस्न, विद्युतीय उपकरणको प्रयोगमा सावधानी अपनाउन तथा मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिएको छ।
यसैबीच शुक्रबार बिहानैदेखि देशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ।
मनसुन अझै सक्रिय रहने भएकाले आगामी केही दिनसम्म पनि देशका विभिन्न क्षेत्रमा वर्षाको क्रम जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


































