काठमाण्डौँ । देशभरको मौसममा अहिले पश्चिमी न्यून चापीय प्रणाली (वेस्टर्न ट्रफ) र स्थानीय वायुको संयुक्त प्रभाव देखिएको छ।
यसका कारण पहाडी तथा हिमाली भू-भागमा बदली बढ्नुका साथै केही क्षेत्रमा वर्षाको गतिविधि जारी रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ।
तराईका अधिकांश भू-भागमा भने मौसम आंशिक बदलीसहित सामान्यतया खुला रहेको छ।
हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेस प्रदेशसहित अन्य केही हिमाली क्षेत्रमा हल्का वर्षा वा उच्च हिमाली भेगमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
मौसमविद्हरूका अनुसार स्थानीय वायु सक्रिय रहेकाले कतिपय स्थानमा छोटो अवधिका वर्षा र चट्याङको जोखिम रहनेछ।
यता, तराई क्षेत्रमा भने गर्मीको प्रभाव अझै कायम रहने देखिएको छ।
मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा तापक्रम अस्वाभाविक रूपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसले ‘तातो दिन’को अवस्था सिर्जना गर्न सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
रातिको समयमा पनि कोशी प्रदेश र हिमाली भूभागमा सामान्य बदली रहनेछ भने मधेश र अन्य पहाडी क्षेत्रमा आंशिक बदली कायम रहने अनुमान छ।
तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहने भएपनि केही स्थानमा गर्मीको प्रभाव निरन्तर रहनेछ।
मौसमविद्हरूले चट्याङ, अस्थायी वर्षा तथा उच्च तापक्रमको सम्भावित प्रभावलाई ध्यानमा राख्दै यात्रा, कृषि तथा दैनिक गतिविधिमा सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचनाहरू नियमित रूपमा पछ्याउन आग्रह गरेका छन्।
































