काठमाण्डौँ । यस वर्षको मनसुन नेपालमा भित्रिन अझै करिब एक साता लाग्ने अनुमान गरिएको छ।
हाल दक्षिण भारतको केरलासम्म पुगेको मनसुन प्रणाली क्रमशः तमिलनाडु हुँदै बंगालको खाडीबाट नेपालतर्फ अघि बढिरहेको मौसमविद्हरूले बताएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सामान्यतया जुन १३ तारिखलाई मनसुन प्रवेशको औसत मिति मानिन्छ।
त, यस वर्ष भारतमै मनसुन केही ढिलो सक्रिय भएकाले नेपालमा पनि सोही अनुपातमा ढिलाइ हुने सम्भावना देखिएको छ।
वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार मनसुनको आगमन निश्चित मितिमा सीमित नहुने भएकाले यसको सक्रियता र गति अनुसार नेपाल प्रवेशको समय फरक पर्न सक्छ।
उनका अनुसार, “बंगालको खाडीमा मनसुन प्रणाली पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्छ, त्यसपछि नेपालसम्म आइपुग्न करिब एक साता वरिपरि समय लाग्ने देखिन्छ।”
मौसमविद्हरूले यस वर्षको मनसुन सामान्यभन्दा कमजोर रहने संकेत पनि दिएका छन्।
औसतभन्दा कम वर्षा हुने र केही क्षेत्रमा खडेरी तथा केही स्थानमा अत्यधिक वर्षा हुने जोखिम रहने अनुमान गरिएको छ।
यसैबीच, हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित प्रभाव कायमै छ।
यसको असरले पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली र केही स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णालीलगायतका केही पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने मधेश, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने गर्मी र ‘तातो दिन’ अझै केही समय कायम रहने देखिएको छ।

































