२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

बीमा र धितोपत्र अनियमितता प्रकरण: भट्ट–अग्रवाल–गोल्छासहितमाथि चार कसुरमा मुद्दा तयारी

Untitled
Untitled
Untitled

काठमाण्डू, व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल र शेखर गोल्छासहित दर्जनौँ व्यक्तिमाथि चार अलग–अलग कसुरमा मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाइएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बिमा र धितोपत्रसम्बन्धी तीन कसुरमा अनुसन्धान प्रतिवेदन तयार गरी सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति शुद्धीकरणको छुट्टै प्रतिवेदन दायर गरेको छ।

सीआईबीका अनुसार बिमा ऐन उल्लङ्घन, धितोपत्र कारोबार अनियमितता तथा विभिन्न वित्तीय अपचलनसम्बन्धी तीन मुद्दामा अनुसन्धान पूरा भइसकेको छ।

तीमध्ये दुई वटा प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा पुगेका छन् भने तेस्रो प्रतिवेदन अध्ययन र अभियोजन तयारीको चरणमा रहेको छ।

सरकारी वकिल कार्यालयले ती फाइलहरूको विस्तृत अध्ययन गरी म्यादभित्रै अभियोग दायर गर्ने तयारी गरेको जनाएको छ।

सीआईबीको अनुसन्धान प्रतिवेदनमा ४० भन्दा बढी व्यक्तिलाई बिमा सम्बन्धी कसुरमा प्रतिवादी बनाउनुपर्ने राय दिइएको छ।

तीमध्ये प्रमुख व्यवसायीहरू दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छा, ऋषिराज मोर, सन्दीप चासन लगायतको नाम उल्लेख छ।

अनुसन्धानअनुसार हिमालयन रिइन्सुरेन्स कम्पनीसहित विभिन्न बिमा तथा वित्तीय संस्थामार्फत करिब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको अपचलन भएको दाबी गरिएको छ।

त्यसैगरी धितोपत्र (सेयर) सम्बन्धी कसुरमा कम्तीमा ७५ जनालाई प्रतिवादी बनाउनुपर्ने निष्कर्ष सीआईबीले निकालेको छ।

उनीहरूले झुटा विवरण, आपसी कारोबार र कृत्रिम रूपमा सेयर मूल्य बढाउने गतिविधि गरेको आरोप छ।

यस क्रममा विभिन्न माइक्रो इन्सुरेन्स तथा वित्तीय संस्थाहरूको प्रयोग गरेर अनियमित कारोबार गरिएको अनुसन्धानमा देखिएको सीआईबीको भनाइ छ।

यो कसुरमा करिब १ अर्ब रुपैयाँ बिगो कायम गर्ने प्रस्ताव गरिएको छ। यसैबीच, सुलभ अग्रवालमाथि छुट्टै आरोपसमेत रहेको छ।

उनले अंशबण्डाको नाटकमार्फत सेयर बिक्री प्रक्रिया मिलाएर कानूनी प्रक्रिया छल्न खोजेको दाबी सीआईबीले गरेको छ।

उक्त विषयमा पनि धितोपत्र ऐनअन्तर्गत छुट्टै अभियोग दायर गर्ने तयारी भइरहेको छ।

यता, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि समानान्तर रूपमा अनुसन्धान प्रतिवेदन उच्च सरकारी वकिल कार्यालय पाटनमा बुझाइसकेको छ।

यद्यपि प्रतिवेदन बुझाएको एक साता बितिसक्दा पनि अभियोग दायर प्रक्रिया अघि बढिसकेको छैन।

सीआईबीले यी व्यवसायीहरूमाथि बैंकिङ कसुरसम्बन्धी अर्को छुट्टै अनुसन्धान पनि जारी राखेको जनाएको छ।

सो मुद्दा विशेष अदालतमा दायर हुने भएकाले अन्य मुद्दाभन्दा फरक प्रक्रियामा रहेको अधिकारीहरूको भनाइ छ।

यस प्रकरणमा पक्राउ परेका दीपक भट्ट, सुलभ अग्रवाल लगायत केहीलाई हिरासतमा राखेर अनुसन्धान गरिएको थियो भने शेखर गोल्छा सर्वोच्च अदालतको आदेशपछि छुटिसकेका छन्।

अनुसन्धान प्रतिवेदनअनुसार अधिकांश प्रतिवादीहरूलाई बाहिरै राखेर मुद्दा दायर गर्ने तयारी भइरहेको छ।

Untitled
Untitled
Untitled