काठमाण्डौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका उच्च अधिकृतहरूको ठूलो मात्रामा सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले सात जना नायव महानिरीक्षक (डीआईजी) र १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा तथा पदस्थापन गरेको हो।
डीआईजीतर्फ नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीमा विष्णुप्रसाद भट्ट, नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय महोत्तरीमा दीपक अधिकारी तथा नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा कृष्णराज पाठकलाई सरुवा गरिएको छ।
त्यस्तै दीपेन्द्र शाहलाई इन्टेलिजेन्स ब्यूरो, कृष्ण ढकाललाई कार्य विभाग, दीपेन्द्र कुँवरलाई मानवस्रोत विभाग र सुरेशकुमार श्रेष्ठलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको गृह मन्त्रालयले जनाएको छ।
हालै बढुवा भएका दिगविजय सुवेदीलाई नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमा पदस्थापन गरिएको छ।
उनी यसअघि सोही बाहिनीको निमित्त बाहिनीपतिका रूपमा कार्यरत थिए।
अन्य पदस्थापनअन्तर्गत किरण बस्नेतलाई नम्बर ३ गढिमाई बाहिनी मकवानपुर, माधवप्रसाद पौडेललाई नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं र प्रविण कँडेललाई नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीमा खटाइएको छ।
त्यसैगरी राजेश उप्रेतीलाई एपीएफ कमान्ड तथा स्टाफ कलेज, नेत्रबहादुर कार्कीलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ।
कार्कीले अब संगठनको प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नेछन्। राजेन्द्र खड्कालाई मानवस्रोत विभागमा पदस्थापन गरिएको छ।
यसैबीच मन्त्रालयले १५ जना एसएसपीको सरुवा पनि गरेको छ।
विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा विकास घिमिरे, युएन शान्ति स्थापना तालिम शिक्षालय ककनीमा जनक पुरी तथा हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरामा यादव विश्वकर्मालाई सरुवा गरिएको छ।
त्यस्तै टोपबहादुर खनाललाई पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ र अशोककुमार बमलाई खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौंमा सरुवा गरिएको छ।
दीपककुमार थापालाई प्रबन्ध महाशाखामा पदस्थापन गरिएको गृह मन्त्रालयले जनाएको छ।
सरुवा तथा पदस्थापनलाई संगठनभित्र कार्यक्षमता वृद्धि, प्रशासनिक सन्तुलन र जिम्मेवारी पुनःवितरणको नियमित प्रक्रियाका रूपमा लिइएको छ।
































