काठमाण्डू, शान्तिका प्रतीक र विश्वभर परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना र प्रवचनका साथ मनाइँदैछ।
हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ, जसले बुद्धको शान्ति र मैत्रीका सन्देशको स्मरण गराउँछ।
सिद्धार्थ गौतमले विश्व शान्तिको स्थापनामा पुर्याएको योगदानको कदर गर्दै यो पर्व मनाउने परंपरा छ।
बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटनाहरू वैशाख शुक्ल पूर्णिमाकै दिन भएकोले, आजको दिन नेपालसहित विश्वभरका बौद्ध धर्मावलम्बीले बुद्धप्रति विशेष श्रद्धा र सम्मान प्रकट गर्दै बुद्ध जयन्ती मनाउँछन्।
“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो,” जस्ता कालजयी सन्देशहरू दिँदै गौतम बुद्धको २५७०औं जयन्ती शान्तिको सन्देश फैलाउने उद्देश्यले मनाइँदैछ।
बौद्ध धर्मावलम्बीहरू परम्परागत पूजाआजा र विधिहरू पूरा गर्न चैत्य, गुम्बा र विहारहरूमा एकत्रित हुने गर्छन्। साथै, लामा र बौद्ध धर्मगुरुहरूको नेतृत्वमा पूजा र प्रवचनहरूको आयोजना गरिन्छ।
लुम्बिनी, स्वयम्भू, बौद्ध र अन्य ऐतिहासिक स्थलहरूमा विविध सांस्कृतिक कार्यक्रमहरू र धार्मिक अनुष्ठानहरूको आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा रहेको छ।
आजदेखि २५७० वर्षअघि, इसापूर्व ५६३ मा रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट बुद्धको जन्म भएको थियो।
राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमले मानव जीवनको दुःख र पीडा देखेर गम्भीर चिन्ता व्यक्त गरे।
२९ वर्षको उमेरमा दरबारको ऐश्वर्यलाई त्यागेर तपस्या र आत्मज्ञानको मार्गमा लागेका थिए।


































