काठमाण्डू, विपीन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितमा कर्णाली प्रदेशमाथि सानदार जीत हात पारेको छ।
मंगलबार भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि नौ विकेटको फराकिलो जीत दर्ता गरेको हो।
गण्डकीको जितसँगै शीर्ष ६ मा रहने सम्भावना जिवित राखेको छ। यद्यपी अर्को खेलको नतिजामासमेत भर पर्नुपर्नेछ।
नौ खेलमध्ये समान चार खेलमा जीत र हार तथा एक खेलमा अंक बाँडेको गण्डकी नौ अंकसहित तालिकाको छैटौँ स्थानमा छ।
एक खेलमा जीत, सात खेलमा हार र एक खेलमा अंक बाँडेको कर्णाली तीन अंकसहित तालिकाको नवौँ स्थानमा छ।

नौ खेलबाट एक अंक बनाएको कोसी प्रदेश तालिकाको पुछारमा रहेको छ। योसँगै कर्णाली र कोसी प्रदेश शीर्ष ६ को दौडबाट बाहिरिएका छन्।
कर्णालीले दिएको ७३ रनको सामान्य लक्ष्य गण्डकीले १३ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो।
गण्डकीका लागि सिवरिन श्रेष्ठ ४० र दिपक डुम्रे २२ रनमा अविजित रहे। अर्जुन कुमाल ६ रनमा क्याच आउट भए।

त्यसअघि विरगञ्जको नारायणी क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली २५.२ ओभरमा ७२ रन बनाउँदा अलआउट भयो। कर्णालीका प्रकाश जैसीले बनाएको १५ रन नै सर्वाधिक रह्यो।
कप्तान दिवान पुन १४ रनमा क्याच आउट भए। अर्जुन घर्तीले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
कर्णालीलाई सस्तैमा रोक्न विपीन खत्रीले पाँच विकेट लिए। घातक बलिङ गरेका विपीनले आफ्नो स्पेलमा चार मेडन राख्दै मात्र १८ रन दिए।
अपराजित पौडेलले तीन तथा सुवास भण्डारी र कमल परियारले समान एक विकेट लिए।


































