काठमाण्डू, दीपेन्द्रसिंह ऐरीले सङ्कटका समयमा अविजित अर्धशतकीय पालि खेलेपछि आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले मङ्गलबार स्कटल्यान्डलाई सात विकेटले हराएको छ ।
शुरुका तीन खेल हारेपछि सुपर आठको होडबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा सान्त्वना जित प्राप्त गरेको हो । विश्वकप यात्राको अन्त्य सुखद रूपमा गरेको नेपालले आफ्नो प्रतिष्ठा पनि जोगाएको छ ।
नेपालले १२ वर्षपछि टी–२० विश्वकपमा जित प्राप्त गरेको हो । सन् २०१४ मा बङ्गलादेशमा पहिलो पटक टी–२० विश्वकप खेल्दा नेपालले तीनमध्ये दुई खेल जितेको थियो ।
पहिलो सहभागितामा अफगानिस्तानलाई हराएपछि नेपालले पहिलो पटक विश्वकपमा जितको स्वाद चाखेको हो ।
बङ्गलादेशमा खेलेपछि १० वर्षपछि टी–२० विश्वकपमा सहभागिता जनाएको नेपाल पछिल्लो संस्करणमा जितविहीन बनेको थियो ।
यसपालि पनि नेपाल पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रन, दोस्रो खेलमा इटालीसँग १० विकेट र तेस्रो खेलमा वेस्ट इन्डिजसँग नौ विकेटले हारेको थियो ।
इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज दुई पटकका विजेता हुन् । यी दुई टिम नै समूह ‘सी’ बाट सुपर आठमा पुगेका छन् ।
नेपालसहित स्कटल्यान्ड र नवप्रवेशी इटालीको यात्रा सुपर आठमै सकियो ।
सुरक्षाका कारण देखाउँदै बङ्गलादेशले भारत भ्रमण नगर्ने निर्णय गरेपछि आइसिसी वरीयताका आधारमा अन्तिम समयमा स्कटल्यान्डले विश्वकपमा खेल्ने अवसर पाएको हो ।
दीपेन्द्रको खेल जिताउने अर्धशतक
भारतको मुम्बईस्थित वानखेडे क्रिकेट रङ्गशालामा टस जितेपछि कप्तान रोहित पोडेलले पहिले फिल्डिङ गर्ने निर्णय भएको थियो ।
स्कटल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १७० रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो ।
नेपालले चार बल बाँकी छँदा तीन विकेटको क्षतिमा १७१ रन बनाएर लक्ष्य हासिल ग¥यो ।
दीपेन्द्र २३ बलमा चार चौका र तीन छक्का प्रहार गरी अविजित ५० रन बनाए । गुलसन झा पनि १७ बलमा २४ रन बनाएर आउट भए ।
गुलसनको पालिमा एक चौका र दुई छक्का सामेल थियो । यी दुईले मिलेर सङ्कटका समयमा ७३ रनको अविजित साझेदारी निर्वाह गरेका थिए ।
दीपेन्द्रले २३ बलमा अर्धशतक छुनुभएको थियो । टी–२० विश्वकपमा नेपालका लागि यो सर्वाधिक तेज अर्धशतक पनि भएको छ ।
टी–२० विश्वकपमा नेपालका लागि बनेका तीन अर्धशतकमध्ये दुई दीपेन्द्रकै नाममा छ । पछिल्लो खेलमा वेस्ट इन्डिजविरुद्ध पनि दीपेन्द्रले ५८ रनको अर्धशतकीय पालि खेले ।
दीपेन्द्रले कुल १६९ रन बनाएर यस विश्वकपलाई स्मरणीय बनाए । मङ्गलबारसम्मको खेल सकिँदा दीपेन्द्र सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा छन् ।
यसअघि प्रारम्भिक ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आसिफ सेखले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरी नेपाललाई सानदार सुरुवात दिलाएका थिए ।
जुन टी–२० विश्वकपमा नेपालका लागि पहिलो विकेटका लागि सर्वश्रेष्ठ साझेदारी भएको थियो ।
भुर्तेलले ३५ बलमा ४३ र आसिफले २७ बलमा ३३ रन बनाए । भुर्तेलले एक चौका र चार छक्का तथा आसिफले दुई छक्का प्रहार गरेका थिए ।
नेपालका लागि कप्तान रोहितले पनि १४ बलमा एक चौकासहित १६ रन बनाए । स्कटल्यान्डका स्पिनर माइकल लिस्कले मात्र विकेट लिए ।
शुरुका तीन ओभरमा मात्र १० रन दिएर भुर्तेल, आसिफ र रोहितलाई आउट गर्ने लिस्कको चौथो ओभरमा दीपेन्द्र र गुलसनले २० रन बटुलेर खेल नेपालतर्फ मोडेका थिए ।
बलिङमा सानदार पुनरागमन
स्कटल्यान्डले पावरप्लेमा ५२र० को स्थितिमा रहँदै राम्रो शुरुवात गरेको थियो । स्कटल्यान्ड १५ औँ ओभरमा एक विकेटको क्षतिमा १३१ रन बनाएर आरामदायक स्थितिमा थियो ।
तेस्रो पटक टी–२० विश्वकप खेलिरहेका मध्यम गतिका बलर सोमपाल कामीले डेथ ओभरमा सानदार बलिङ गरेपछि अन्तिम पाँच ओभरमा नेपालले सानदार पुनरागमन जनायो ।
सोमपालले चर ओभरमा मात्र २५ रन खर्चेर तीन विकेट लिएपछि स्कटल्यान्डले ३९ रन मात्र जोड्दा छ विकेट गुमाएको थियो ।
अनुभवी सोमपालले १६ औँ ओभरमा दुई विकेट लिँदै खेलको मोड परिवर्तन गरेको थियो ।
सोमपालले माइकल जोन्सलाई बोल्ड गरेपछि ब्रान्डन म्याकमुलन ९२५० लाई उत्कृष्ट रिटर्न क्याचमार्फत पवेलियन फर्काए ।
स्कटल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान जोन्सले आठ चौका र तीन छक्कासहति ४५ बलमा ७१ रनको सानदर पालि खेले ।
जोन्ससँगै सुरुमै क्रिजमा आएका जर्ज मुन्से २७ रनमा आउट भए । स्कटल्यान्डका अन्य ब्याट्सम्यान खासै उल्लेखलायक पाल खेल्न सकेनन् ।
स्कटल्यान्डको पालि अन्तिम समयमा धराशयी बनाउन नन्दन यादवले पनि दुई विकेट लिएर सोमपाललाई उचित साथ दिए ।
यसै गरी कप्तान रोहित र भुर्तेलले पनि एकरएक विकेट प्राप्त गरे ।
‘क्रिकेट जीवनको उत्कृष्ट पालिमध्ये एक’
‘प्लेअर अफ दी म्याच’ दीपेन्द्रले पछिल्लो विश्वकपमा सबै खेल हारेको र यस विश्वपका पनि सुरुका तीन खेल हारेपछि प्राप्त पहिलो जितले धेरै खुसी लागेको बताए ।
ृउनले स्कटल्यान्डविरुद्धको पालिलाई आफ्नो क्रिकेट जीवनको उत्कृष्ट पालिमध्ये एक हो पनि भने ।
कप्तान रोहितले आफ्नो नेतृत्वमा विश्वकपमा पहिलो जीत दिलाउनु आफ्ना लागि ठूलो कुरा भएको बताए ।
रोहितले पछिल्ला दुई खेलमा कमजोर प्रदर्शन हुँदाहुँदै पनि टिमलाई समर्थन गर्न रङ्गशाला पुगेका र अन्य सबै नेपाली समर्थकलाई धन्यवाद पनि दिए ।
यसै गरी स्कटल्यान्डका कप्तान रिचि बेरिङटनले दीपेन्द्रको ब्याटिङले आफ्नो टिम हारेको प्रतिक्रिया दिए ।
उनले भने, “हामीले प्रतिस्पर्धात्मक स्कोर बनाएका थियौँ ।”


































