२०८२ कात्तिक १५ शनिवार | Saturday, Nov 01 2025

Untitled

चलचित्र ‘वरिष्ठ बलराम’को स्याड सङ ‘मायाले रुवायो’ गीत सार्वजनिक

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ ।

कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको चलचित्रको नयाँ गीत निर्माणपक्षले आज सार्वजनिक गरेको हो ।

हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला चलचित्रको स्याड भर्सनको गीत सार्वजनिक भएको हो ।

गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ । शब्द तथा संगीत प्रशान्त शिवाकोटीको छ ।

वियोगान्त गीतमा प्रेम जोडीबीचको वियोगको कथा छ । प्रेममा रहेको जोडी एकाकार हुन नसक्दा भएको वियोगको पीडालाई गीतमा समेटिएको छ ।

वियोगको छटपटी कसैले नबुझ्दाको पीडालाई मर्मस्पर्शी शब्दसहित गीतमा चित्रण गरिएको छ ।

सिनेमाको कथा भन्ने गीतले दर्शकको मन छुन्छ । भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय छ ।

यही चलचित्रको अर्को गीत ‘न्यौली बनैमा’ दर्शकले रुचाउँदा एक करोडभन्दा धेरै भ्युज पाइसकेको छ ।

चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् ।

निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी.घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।

Untitled
Untitled
Untitled