२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

फल लाग्ने बेला केराखेतीमा विपत्ति, किसानको सपना चकनाचुर

Untitled
Untitled
Untitled

घोराही, दाङमा आएको तीव्र हावाहुरीले किसानको मेहनतमाथि ठूलो चोट पुर्‍याएको छ ।

घोराही उपमहानगरपालिका–१२ हापुर रतनपुरमा व्यावसायिक केराखेती गर्दै आएका किसान हुमबहादुर केसीको खेतमा सयौँ केराका बोट ढलेपछि लाखौँ रुपैयाँ बराबरको क्षति भएको छ ।

वैशाख २० गते आएको हावाहुरीले बिक्रीका लागि तयार हुँदै गरेका र फल लाग्ने चरणमा रहेका ४१३ वटा केराका बोट नष्ट गरेको किसान केसीले बताएका छन् ।

चार बिघामा फैलिएको केराखेतीमध्ये करिब दुई बिघा क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ । प्रारम्भिक अनुमानअनुसार करिब दुई लाख ८५ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

‘एनिमल सनसाइन बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म’ सञ्चालन गर्दै आएका केसीले विगत पाँच वर्षदेखि हापुरस्थित माध्यमिक विद्यालयको १० बिघा जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्दै आएका छन् ।

उनका अनुसार साना बिरुवामा सामान्य असर परेपनि उत्पादन दिन लागेको ठूला केराका बोट पूर्ण रूपमा ढलेका छन् ।

प्यूठानको ऐरावती गाउँपालिका–२ घर भएका केसीले विद्यालयलाई वार्षिक ७० हजार रुपैयाँ भाडा तिर्दै आएका छन् ।

उनले भाडामा लिएको जग्गामध्ये चार बिघामा केराखेती गरेका छन् भने बाँकी क्षेत्रमा मौसमअनुसार मकै, तोरी, मसुरोलगायतका बाली लगाउने गरेका छन् ।

उनका अनुसार फर्ममा उत्पादन भएको केरा स्थानीय गाउँदेखि घोराही बजारसम्म बिक्री हुँदै आएको छ ।

यसबाट मासिक ४० देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।

केराखेतीसँगै कुखुरापालनसमेत सञ्चालन गर्दै आएका केसीले स्थानीय चार जनालाई रोजगारी पनि दिएका छन् ।

Untitled
Untitled
Untitled