काठमाण्डू, देशकै पहिलो आधुनिक सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आगामी आर्थिक वर्ष २०८३/८४ भित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल नेतृत्वको टोलीले सोमबार आयोजना स्थलको अनुगमन गरेको थियो।
सो क्रममा आयोजना प्रमुख सौजन्य नेपालले जेठ अन्त्यतिर सुरुङमार्गको परीक्षण (ट्रायल) शुरु गरिने र साउनको दोस्रो सातादेखि व्यावसायिक सञ्चालनमा ल्याइने जानकारी दिएका छन्।
सुरुङमार्ग सञ्चालनमा ढिलाइ हुनुका कारणबारे स्पष्ट पार्दै उनले २०८२ सालको साउन–भदौमा परेको भारी वर्षाले पश्चिमी प्रवेशद्वार क्षेत्रमा पहिरो जाँदा निर्माण कार्य प्रभावित भएको बताए।
विशेषगरी टोल बुथ क्षेत्रमा ठूलो क्षति पुगेका कारण काम लम्बिएको थियो।
यस्तै, परामर्शदाता टोलीका अनुसार कानूनी प्रक्रिया, बन्द–हड्ताल तथा सञ्चालन मोडालिटी परिवर्तनजस्ता कारणले पनि ढिलाइ भएको हो।
शुरुमा सडक विभाग आफैंले सञ्चालन गर्ने योजना भए पनि पछि प्रतिस्पर्धाबाट सेवा प्रदायक छनोट गर्ने निर्णय भएपछि थप प्रक्रिया पूरा गर्न समय लागेको बताइएको छ।
हाल आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत र वित्तीय प्रगति ९६ प्रतिशत पुगेको छ।
निर्माण कम्पनीले छिट्टै सुरुङमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारीमा रहेको जनाएको छ।
सुरुङमार्ग सञ्चालनका लागि चीनको युसिन–एआरटी संयुक्त कम्पनीसँग पाँच वर्षका लागि सम्झौता भइसकेको छ।
उक्त कम्पनीले आवश्यक जनशक्ति व्यवस्थापन र तालिमको काम अघि बढाइरहेको छ। करिब १५० जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ।
सबै तयारी पूरा भएपछि परीक्षण सफल भई सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा आउनेछ, जसले काठमाडौँ उपत्यका भित्रिने–निस्किने यातायातलाई सहज बनाउने अपेक्षा गरिएको छ।


































