२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रोसी खोलाको बाढीमा फसेका ८९ यात्रु ९ घण्टापछि उद्धार

Untitled
Untitled
Untitled

काभ्रे, रोसी खोलामा आएको आकस्मिक बाढीका कारण अलपत्र परेका ८९ यात्रुको करिब नौ घण्टापछि सफल उद्धार गरिएको छ।

सोमबार साँझ बनेपा, पनौती र धुलिखेल क्षेत्रमा परेको निरन्तर वर्षापछि बीपी राजमार्गको रोसी गाउँपालिका–७ घुमाउने खण्डमा पाँच वटा हायस र इभी गाडी खोलामै अड्किएका थिए। साँझदेखि नै यात्रुहरू जोखिमपूर्ण अवस्थामा फसेका थिए।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको संयुक्त टोली परिचालन गरिएको थियो।

सुरुआती प्रयासले सफलता नपाएपछि राफ्टिङ बोटको सहायताले राति ढिलो सबै यात्रुलाई सुरक्षित स्थानमा ल्याइएको प्रहरीले जनाएको छ।

उद्धार गरिएका यात्रुलाई तत्कालै अन्य सवारीमार्फत गन्तव्यतर्फ पठाइएको थियो।

प्रहरीका अनुसार खराब मौसमका कारण सवारी आवागमन रोकेको अवस्थामा पनि चालकहरूले जोखिम मोलेर अघि बढ्दा घटना भएको हो।

सोही कारण पाँचै सवारीका चालकलाई नियन्त्रणमा लिइएको छ।

बाढीले अस्थायी डाइभर्सन बगाएपछि सवारी साधन भने खोलामै फसेका छन्। यस क्षेत्रको सडक अघिल्ला बाढीले पनि क्षतिग्रस्त बनाएको थियो ।

अहिले पुनर्निर्माणको काम जारी छ, जसका कारण सामान्य वर्षामा पनि जोखिम बढ्ने गरेको छ।

Untitled
Untitled
Untitled