काठमाण्डू, व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले सोमबार गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।
गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार नियन्त्रणमा लिएको थियो।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा गोल्छाको नाम पनि परेपछि उनी पक्राउ परेका थिए।
त्यसलगत्तै उनले हिमालय रि इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए।
सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि ७ दिनको म्याद थप माग गरे पनि अदालतले ३ दिनको समय मात्र दिएको हो।
प्रतिवादीको बयान कार्य पूर्ण रूपमा सम्पन्न नभई आंशिक रूपमा मात्र सकिएको र अनुसन्धान अझै बाँकी रहेको देखिएकाले म्याद थप गरिएको हो।
अदालतले अनुसन्धानसँगै गोल्छाको स्वास्थ्य उपचारमा ध्यान दिन पज भनेको छ।
गोल्छा अर्गनाइजेसनका अध्यक्ष गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पनि हुन्।


































