काठमाण्डू, नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मुलुकको मौसममा मिश्रित प्रभाव देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा बादलको लुकामारी चलिरहेको छ भने तराईका जिल्लाहरूमा टन्टलापुर घामसँगै गर्मी बढ्न थालेको छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदलीको अवस्था छ ।
गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा त मेघगर्जन र चट्याङसहित हल्का वर्षा समेत भइरहेको छ ।
अन्य पहाडी भेगमा आंशिक बादल लागे पनि तराई क्षेत्रको मौसम भने सामान्यतया सफा नै रहेको देखिन्छ ।
मौसम विज्ञान विभागले शुक्रबारको पूर्वानुमान जारी गर्दै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
यी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुने देखिन्छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू–भागका एक–दुई स्थानमासमेत हल्का हिमपातको प्रक्षेपण गरिएको छ ।
पहाडमा वर्षाको सम्भावना रहँदा तराई र भित्री मधेशमा भने गर्मीको राप बढ्ने सङ्केत छ ।
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो दिनको सम्भावना रहेकाले तापक्रम बढ्दा जनजीवन प्रभावित हुन सक्ने देखिन्छ ।


































