काठमाण्डू, जल तथा मौसम विज्ञान विभागले हाल सातै प्रदेशका विभिन्न जिल्लामा हुरीबतास, असिनासहितको वर्षा भएको जनाएको छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण हुरीसहितको वर्षा भइरहेको हो ।
विभागका मौसमविद् मौसमविद् हरिप्रसाद दाहालका अनुसार देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ ।
उनले मकवानपुर गढीमा ४४ दशमलव दुई२ मिलिमिटर वर्षा भएको जानकारी दिए ।
त्यस्तै काठमाडौंको बबरमहल क्षेत्रमा सात दशमलव आठ मिलिमिटर तथा कीर्तिपुरमा १६ दशमलव आठ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् दाहालले बताए ।
हाल भइरहेको वर्षा प्रणाली पश्चिमबाट बिस्तारै उत्तर पूर्वतर्फ सर्दै गएको उनले जानकारी दिए ।
उनले आगामी करिब तीन घण्टासम्म हुरीबताससहित वर्षा जारी रहने सम्भावना रहेकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरे ।
विभागका अनुसार हुरी बताससहितको वर्षाले यातायात, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएका छन् ।
विभागले अत्यावश्यकबाहेकका आवागमन नगर्न र उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
शुक्रवार राति र शनिवारसम्म मधेश प्रदेशलगायत कोशी, बागमती, लुम्बिनी प्रदेशका तराई र पहाडी भू-भागमा हुरीबतास चलेको विभागले जनाएको छ ।
कमजोर अवस्थामा रहेका रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात पनि प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागको अनुरोध हो ।


































