काठमाण्डू, हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागलगायत अन्य बाँकी हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।
बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ ।
देशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भागका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी आज राति तराई भागका केही स्थानमा तुवाँलो लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्नेछ ।
बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले हुस्सु र तुवाँलो लाग्ने तथा हिमपात हुने पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दा तथा ती भेगमा यातायातका साधन सञ्चालनलगायत दैनिक गतिविधि सावधानीपूर्वक गर्न सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।


































