रौतहट, जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको छ ।
गौरमा दुई समुदायबीच भएको सामान्य विवाद तीन दिनमै साम्प्रदायिक दंगामा परिणत भएपछि अवस्था नियन्त्रण बाहिर गएको हो ।
तोडफोड, आगजनी र ढुंगा हानाहानका घटना बढेपछि प्रशासनले कर्फ्यु जारी गरेको छ ।
शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना भएको थियो ।
उक्त विवाद भड्किएर हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो । आइतबार बिहान केही समयका लागि कर्फ्यु खुकुलो पारिएको थियो ।
त्यस समयमा सर्वसाधारणले दैनिक उपभोग्य सामग्री किन्न बाहिर निस्किएका थिए ।
तर, बिहान ८ः३० बजेदेखि फेरि कर्फ्यु कडाइका साथ लागू गरिने भएको छ । प्रशासनले कर्फ्युको पालना गर्न सबैलाई आग्रह गरेको छ ।
प्रहरीले घटना भड्काउन भूमिका खेलेको आरोपमा २० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनमत पार्टीका नेता शेख जमशेद पनि छन् ।


































