२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

२५ केन्द्रीय सदस्यको देउवालाई चेतावनी– ‘पार्टी फुटको बाटोमा नजाओस्’

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसभित्र आन्तरिक विवाद उत्कर्षमा छ ।

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको तयारी गरेपछि कांग्रेसको आन्तरिक राजनीतिक थप तरंगित बन्न पुगेको हो ।

महामन्त्रीद्वयले बिहीबार आगामी पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशनको मिति तोकेका छन् ।

एकातिर संस्थापनले निर्वाचनअघि कुनै पनि (नियमित वा विशेष) महाधिवेशन हुन नसक्ने भन्दै अडान लिइरहेको छ ।

तर। महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएसँगै पार्टी फुटको संघारमा पुग्ने त होइन भन्ने विश्लेषण समेत भइरहेको छ ।

यहीबिचमा महामन्त्री गगन थापा समूहसँग खुलेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यको समूहले आज सभापति शेरबहादुर देउवासँग भेट गरी पार्टी एक ढिक्का बनाएर अघि बढाउन आग्रह गरेको कांग्रेस केन्द्रीय सदस्य डा.डिला संग्रौलाले लोकपथलाई जानकारी दिइन् ।

उनका अनुसार २५ नेताहरुको समूहले देउवालाई भेटेर पार्टीलाई एकतावद्ध बनाएर लैजान आग्रह गरेका हुन् ।

साथै देउवाले समेत आफूले पार्टीलाई एकढिक्का बनाएर लैजाने विश्वास व्यक्त गरेको संग्रौलाको दाबी छ

‘आज हामीले सभापतिज्यूलाई पार्टीमा देखिरहेको तिक्तताको अवस्थाले हामी थप कमजोर हुन्छौँ ।

त्यसको असर निर्वाचनमा देखिन्छ भन्ने लगायत विषयमा ध्यानाकर्षण गराएका छौँ,’ उनले भनिन्, ‘अहिलेको जस्तै विवाद बढ्दै जाने हो भने पार्टी फुटकै अवस्थामा समेत नजाला भन्न सकिन्न, त्यो विषयमा समेत हामीले सभापतिज्यूको ध्यानाकर्षण गराएका छौँ ।

उहाँले पनि आफूले मिलाएर लिएर जाने विश्वास व्यक्त गर्नुभएको छ ।’

त्यसो त आजको भेटमा सभापति देउवालाई समानुपातिकको बन्दसूचीका विषयमा समेत नेताहरुले ध्यानाकर्षण गराएका थिए

नेताहरुले समानुपातिकको बन्दसूची तयार गर्दा ११ जिल्ला खाली रहेको विषयमा समेत ध्यानाकर्षण गराइएको उनले बताइन् ।

त्यति मात्र नभएर नेपाली कांग्रेसले आगामी निर्वाचन नेकपा एमालेसँग मिलेर गर्ने भन्ने चर्चाका विषयमा समेत सत्यतथ्य माग गरेका छन् ।

डा. संग्रौलाका अनुसार नेपाली कांग्रेस पुनः एमालेसँग मिलेर चुनावमा गएमा त्यसले पार्टीमा थप क्षति हुने विषयमा ध्यानाकर्षण गराएको बताइन् ।

‘अहिले नेपाली कांग्रेस पुनः नेकपा एमालेसँग मिलेर जाने भन्ने कुरा आइरहेको छ, त्यसले पार्टीलाई थप क्षति पुर्‍याउँछ भन्ने विषयमा ध्यानाकर्षण गराएका छौँ ।

त्यति मात्र नभएर यसअघिकै महासमिति बैठकले नै चुनाव अघि पार्टीले कसैसँग गठबन्धन गर्दैन भन्ने विषयमा समेत हामीले स्मरण गराएका छौँ,’ उनले भनिन् ।

त्यसो त महामन्त्रीद्वयले विशेष महाधिवेशन बोलाएसँगै कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत बोलाइएको छ ।

आजै दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको हो ।

Untitled
Untitled
Untitled