काठमाण्डू, प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भन्दै नेपाली कांग्रेसले सर्वोच्चमा दायर गरेको पूरक निवेदनमाथि संवैधानिक इजलासमा बुधबार सुनुवाइ हुँदैछ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको संवैधानिक इजलासमा बुधवारका लागि पेशी तोकिएको छ ।
कांग्रेस संसदीय दलका तत्कालीन प्रमुख सचेतक श्याम घिमिरेसहित ८ जनाले दायर गरेको रिट संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।
वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी रहेको इजलासमा सुनुवाइ हुन लागेको हो ।
विघटनविरुद्ध अधिवक्ताहरूले दायर गरेका रिट तथा एमाले मुख्य सचेतक महेश बर्तौलाले दायर गरेको रिट एकै ठाउँ राखेर सुनुवाइ गर्न यसअघि नै आदेश भएको थियो ।
भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको बलमा बनेको सरकारले भदौ २७ गते प्रतिनिधि सभा विघटन सिफारिश गरेको थियो । त्यही सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरेका थिए ।


































