२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

टर्कीमा विमान दुर्घटना, लिबियाका सेना प्रमुखसहित उच्च सैनिक अधिकारीको मृत्यु

Untitled
Untitled
Untitled

एजेन्सी, लिबियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल मोहम्मद अलि अहमद अल–हद्दादसहित पाँच जना उच्च सैनिक अधिकारीको विमान दुर्घटनामा परी निधन भएको छ ।

लिबियाका प्रधानमन्त्री अब्दुल हमिद द्बेइबाहले टर्कीको राजधानी अङ्कारा नजिकै विमान दुर्घटनाको पुष्टि गर्नुहुँदै राष्ट्रका लागि ठुलो क्षति भएको बताए ।

टर्कीका गृहमन्त्री अली येरलिकायाका अनुसार फाल्कन ५० प्रकारको व्यावसायिक जेट विमान (टेल नम्बर ९ एच–डीएफजे) अङ्काराको एसिनबोगा विमानस्थलबाट स्थानीय समयअनुसार साँझ ८ः१० बजे त्रिपोलीका लागि उडेको थियो ।

उडानको केही समयपछि नै चालक दलले हायमाना क्षेत्र नजिकै आपत्कालीन अवतरणको अनुरोध गरेको थियो ।

तर, साँझ ८ः५२ बजेपछि विमानसँग सम्पर्क टुटेको थियो । टर्कीका सुरक्षा फौजले अङ्काराको हायमाना जिल्लास्थित केसिककावाक गाउँ नजिकै विमानको भग्नावशेष फेला पारेका थिए ।

प्रारम्भिक अनुसन्धानमा विद्युतीय खराबी (इलेक्ट्रिकल फेलियर) कारण दुर्घटना भएको देखिएको छ र तोडफोडको सम्भावना नरहेको टर्की अधिकारीहरूले बताएका छन् ।

लिबियाका सेना प्रमुख अल–हद्दाद टर्कीमा उच्चस्तरीय सैनिक वार्ताका लागि गएका थिए ।

मङ्गलबार नै उनले टर्कीका रक्षामन्त्री यासार गुलेर र टर्कीका सेना प्रमुख सेल्चुक बायराक्तारोग्लुसँग भेटघाट गरेका थिए ।

दुबै देशबिच सैनिक तथा सुरक्षा सहकार्यलाई मजबुत बनाउने उद्देश्यले यो भ्रमण भएको थियो ।

निधन हुने अन्य अधिकारीहरूमा स्थल सेनाका प्रमुख मेजर जनरल अल–फितौरी घ्रिबेल, सैनिक उत्पादन प्राधिकरणका निर्देशक ब्रिगेडियर जनरल महमुद अल–कताउइ, सेना प्रमुखका सल्लाहकार मोहम्मद अल–असावी दियाब र सेना प्रमुखको मिडिया कार्यालयका फोटोग्राफर मोहम्मद ओमार अहमद महजुब रहेका थिए ।

विमानमा तीन जना चालक दलका सदस्य पनि हुनुहुन्थ्यो र सबैको निधन भएको अनुमान गरिएको छ ।

प्रधानमन्त्री द्बेइबाहले घटनाको पूर्ण छानबिन गर्ने र टर्कीमा एक प्रतिनिधिमण्डल पठाउने बताए ।

लिबियाको राष्ट्रिय एकता सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको छ । यो घटनाले लिबियाको सैनिक नेतृत्वमा ठुलो क्षति पुगेको छ ।

अल–हद्दाद सन् २०२० देखि लिबियाको सेना प्रमुखको रूपमा नियुक्त भएका र देशको स्थिरताका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

Untitled
Untitled
Untitled