२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एनपीएलको दोस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुने

Untitled
Untitled
Untitled

काठमाण्डू, बहुप्रतिक्षित नेशनल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुरु हुँदैछ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको उद्घाटन कार्यक्रम अपराह्न २ बजे हुने छ भने पहिलो खेल ४ बजे शुरु हुनेछ। मङ्सिर २७ गतेसम्म चल्ने यस प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनलसहित कुल ३२ खेल खेलाइनेछ।

यस पटक त्रिवि क्रिकेट मैदानलाई प्यारापिट र फ्लड लाइटसहित स्तरोन्नति गरिएकाले प्रतियोगिता क्रिकेटप्रेमीका लागि विशेष आकर्षण बनेको छ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ।

रङ्गशालामा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण गरिएकोले दर्शकले सिटमै बसेर खेल हेर्न सक्नेछन्।

फ्लड लाइटको व्यवस्थाले रातिको समयमा पनि खेल सञ्चालन गर्न सकिने भएको छ। सहरी विकास मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदमार्फत आवश्यक संरचना क्यानलाई हालसालै हस्तान्तरण गरेको थियो।

विजेता टोलीलाई रु १ करोड १० लाख पुरस्कार प्रदान गरिनेछ भने उपविजेताले रु ५१ लाख पाउनेछ। त्यसैगरी तेस्रो स्थानले रु २५ लाख र चौथो स्थानले रु १५ लाख प्राप्त गर्नेछ।

एनपीएल दोस्रो संस्करणका सबै खेल कीर्तिपुरमै हुनेछन्। क्यानले दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ। पहिलो दिनका खेलका टिकट दुई दिनमै सकिएका छन्।

उद्घाटन दिन टिकट मूल्य साधारणतर्फ रु ५०० र प्रिमियमतर्फ रु १,५०० तोकिएको छ। लिग चरणका अन्य दिन यी क्रमशः रु ५०० र रु १,००० रहनेछन्।

प्लेअफपछि सामान्य टिकट रु १,००० र प्रिमियम रु २,००० पर्नेछ भने सिजनल टिकट रु १५,००० मा उपलब्ध हुनेछ।

यस संस्करणमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्ससहित आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन्।

क्यानले यस पटक एनपीएलमार्फत करिब रु ४० करोड आम्दानी गर्ने लक्ष्य राखेको छ।

Untitled
Untitled
Untitled