२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका, उम्मेदवारी दर्ता माघ ६ गते

Untitled
Untitled
Untitled

काठमाण्डू, निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै प्रणालीअन्तर्गतको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

प्रत्यक्षतर्फ माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिनेछ भने सोही दिन साँझ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशित हुनेछ।

मनोनयनविरुद्ध उजुरी माघ ७ गते दिउँसो ३ बजेसम्म दर्ता गर्न सकिनेछ। मनोनयन तथा उजुरीसम्बन्धी जाँचबुझ माघ ८ गतेसम्म सम्पन्न गरी सोही दिन बेलुका स्वीकृत नामावली सार्वजनिक गरिने कार्यक्रम छ।

उम्मेदवारले नाम फिर्ता लिने समय माघ ९ गते दिउँसो १ बजेसम्म निर्धारित गरिएको छ भने सोही दिन अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गरिनेछ।

यसैगरी समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतको कार्यक्रम मंसिर २० गतेदेखि प्रारम्भ हुनेछ।

जसमा राजनीतिक दलहरूले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दर्ता गर्न सक्नेछन्, जसको नामावली मंसिर २४ गते प्रकाशित गरिनेछ।

राजनीतिक दलहरूले उम्मेदवारहरूको बन्दसूची पौष १३ र १४ गते पेश गर्नुपर्नेछ भने बन्दसूचीको अन्तिम प्रकाशन माघ २० गते गरिनेछ।

दुवै प्रणालीअन्तर्गतको मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा सञ्चालन हुनेछ।

Untitled
Untitled
Untitled