एजेन्सी, चेन्नई सुपर किंग्स भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) को प्लेअफ नजिक पुगेको छ ।
गएराति सम्पन्न खेलमा पुछारको दिल्ली क्यापिटल्सलाई २७ रनले हराउँदै चेन्नई प्लेअफ नजिक पुगेको हो ।
दिल्लीको प्लेअफ यात्रा भने लगभग समाप्त भएको छ । आफ्नो ११ औँ खेलमा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो ।
उसका लागि रिली रुसोले ३५, मनिष पाण्डेले २७, अक्षर पटेलले २१, फिल साल्टले १७, ललित यावले १२ र रिपल पटेलले १० रन बनाए ।
अस्ट्रेलियन ब्याटरद्वय डेविड वार्नर शून्य र मिचेल मार्श भने ५ रनमै आउट भए ।
चेन्नईका लागि माथीशा पाथिरानाले ३, दीपक चाहरले २ र रवीन्द्र जडेजाले १ विकेट लिए । चेन्नईलाई २ विकेट भने रन आउटको रूपमा प्राप्त भयो ।
त्यसअघि चेपकस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोली चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो ।
उसका लागि शिवम दुबेले २५, ऋतुराज गायकवाडले २४, अम्बाती रायडुले २३, रवीन्द्र जडेजा, अजिंक्य रहाणेले २१/२१, कप्तान महेन्द्रसिंह धोनीले २० र डेभन कन्वेले १० रन बनाए ।
दिल्लीका लागि मिचेल मार्शले ३, अक्षर पटेलले २, कुलदीप यादव, ललित यादव र खलील अहमदले १/१ विकेट लिए ।
यो जीतसँगै दोस्रो स्थानमा रहेको चेन्नईले १२ खेलबाट १५ अंक जोडेको छ । उसले जारी सिजनमा ७ मा जीत, ४ मा हार तथा १ खेलमा वर्षाका कारण अंक बाँडेको छ ।
दिल्लीले भने ११ खेलमा ७ मा हार तथा ४ खेलमा मात्र जीत निकालेको छ ।


































