एजेन्सी, पहिलोपटक फिफा विश्वकपमा सहभागी भएको अफ्रिकाको सानो टापु राष्ट्र केप भर्ड ले विश्व फुटबलमा ऐतिहासिक अध्याय लेखेको छ।
शनिबार बिहान साउदी अरेबियासँग गोलरहित बराबरी खेलेपछि केप भर्ड विश्वकपको नकआउट चरणमा पुग्ने इतिहासकै सबैभन्दा सानो राष्ट्र बनेको हो।
विश्वकपमा पहिलो सहभागितामै केप भर्डले अपराजित रहँदै सबैको ध्यान खिचेको छ।
समूह ‘एच’ मा तीनवटै खेल बराबरीमा टुंग्याएर तीन अंक जोडेको टोली गोलअन्तरका आधारमा उपविजेता बन्दै अन्तिम ३२ मा प्रवेश गर्न सफल भयो।
समूह चरणभर केप भर्डले आफूलाई कमजोर टोली मान्नेहरूलाई लगातार गलत सावित गर्यो।
पहिलो खेलमा सन् २०१० को विश्वविजेता स्पेनलाई गोलरहित बराबरीमा रोक्दै प्रतियोगितामा सनसनी मच्चाएको केप भर्डले त्यसपछि उरुग्वेविरुद्ध दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै २–२ को बराबरी निकाल्यो।
नकआउट यात्रा तय गर्ने निर्णायक खेलमा साउदी अरेबियाविरुद्ध अनुशासित र सन्तुलित प्रदर्शन गर्दै उसले अर्को बराबरी निकाल्यो।
त्यही समयमा स्पेनले उरुग्वेलाई पराजित गरेपछि समूहको समीकरण केप भर्डको पक्षमा पुग्यो र उसले दोस्रो स्थान सुरक्षित गर्दै इतिहास रच्न सफल भयो।
करिब पाँच लाख ६० हजार जनसंख्या रहेको केप भर्ड अब विश्वकपको नकआउट चरणमा पुग्ने सबैभन्दा कम जनसंख्या भएको राष्ट्रका रूपमा दर्ज भएको छ।
सीमित स्रोत र सानो फुटबल संरचनाका बाबजुद विश्वका स्थापित टोलीहरूसँग बराबरी खेल्दै उसले विश्व फुटबलमा आफ्नो क्षमता प्रमाणित गरेको छ।
अब केप भर्डको अगाडि अझ ठूलो परीक्षा छ। जुलाई ३ मा मियामीमा हुने अन्तिम ३२ को खेलमा उसले साविक विश्वविजेता अर्जेन्टिना को सामना गर्नेछ।
अनुभव, इतिहास र स्टार खेलाडीले भरिएको अर्जेन्टिनाविरुद्ध केप भर्डले आफ्नो सपनाको यात्रा अझ अघि बढाउने लक्ष्य राखेको छ।
डेब्यु विश्वकपमै अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको केप भर्ड अहिले प्रतियोगिताको सबैभन्दा प्रेरणादायी र चर्चित टोलीमध्ये एक बनेको छ।
सानो राष्ट्रले देखाएको यो असाधारण प्रदर्शनले विश्व फुटबलमा नयाँ आशा, नयाँ कथा र नयाँ इतिहासको सुरुवात गरेको छ।

































