२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको अभ्यास खेलमा नेपाल स्कटल्यान्डसँग पराजित

Untitled
Untitled
Untitled

काठमाण्डू, आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलको तयारीका लागि खेलिएको अभ्यास खेलमा नेपाल पाहुना टोली स्कटल्यान्डसँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भयो ।

जितका लागि स्कटल्यान्डले दिएको एक सय ८४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५६ रनमा समेटिएको थियो ।

नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन बनाए । यस्तै कविता कुँवरले अविजित २९, कप्तान इन्दू बर्माले २८ र कविता जोशीले २२ रन जोडे ।

बलिङमा स्कटल्यान्डका लागि डार्सी कार्टरले तीन विकेट लिइन । यस्तै क्याथरिन ब्रिस, ओलिभिया बेल र चोल अबेलले एक एक विकेट झारिन ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ८३ रन बनाएको थियो ।

स्कटल्यान्डका लागि क्याथरिन ब्रिसले अविजित ६२ रन बनाइन । यस्तै प्रियानाज चटर्जीले अविजित ४० रन जोडिन ।

बलिङमा नेपालकी रुबिना क्षेत्री र कविता कुँवरले दुई दुई तथा रिया शर्मा र रचना चौधरीले एक एक विकेट लिए ।

जनवरी १२ देखि फेब्रुअरी १ तारिखसम्म त्रिवि मैदान कीर्तिपुर र मुलपानीमा हुने ग्लोबल छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ ।

नेपालले छनोटको पहिलो खेल जनवरी १८ तारिख थाइल्यान्डसँग खेल्ने छ । यस समूहमा स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्स रहेको छ ।

छनोटका खेलहरू त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छ । छनोटका लागि नेपाली टोलीको घोषणा भईसकेको छ ।

१० देशको सहभागिता रहने छनोट खेलको समूह ‘ए’ मा बङ्गलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पिएनजी), नामिबिया र अमेरिका रहेको छ ।

नेपालले दोस्रो खेल जनवरी २२ मा नेदरल्यान्ड्स, जनवरी २४मा जिम्बावे र अन्तिम खेल जनवरी २६मा स्कटल्यान्डसँग खेल्ने छ ।

छनोट खेलको शीर्ष चार टोलीले सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिखसम्म इङल्यान्ड र वेल्समा हुने आइसिसी महिला टी–२० विश्वकपमा छनोट हुने छन् ।

Untitled
Untitled
Untitled