२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

दुम्किबासमा पुल भाँचिएर रोकिएका गाडी वैकल्पिक मार्गबाट सञ्चालन

Untitled
Untitled
Untitled

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन्। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो।

पुल पूर्णरूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरूद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरूण पोख्रेलले जानकारी दिए। रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी गन्तव्यतर्फ पठाउने काम सुरू गरिएको उनले बताए।

‘पुल तत्काल मर्मत असम्भव भएको र डाइभर्सन निर्माणको काम नहुँदासम्मका लागि वैकल्पिक मार्गको प्रयोग गरी रोकिएका सवारीलाई गन्तव्यतर्फ पठाउने काम गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने।

रोकिएका सवारीलाई विनयी त्रिवेणी–२, ज्यामिरे भित्रीबाटो प्रयोग गरी त्रिवेणी क्रसर हुँदै गुम्बाचोकस्थित राजमार्गमा निस्कने प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिए।

करिब पाँच किलोमिटर घुम्नुपर्ने यो बाटोबाट साना सवारीलाई वारपार गराइएको छ। दोस्रो बाटोको रूपमा ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजी चोक–डाँडाजोर–होङ्सी गेट हुँदै करिब १८ किलोमिटर घुमेर राजमार्ग पुग्ने गरी ठूला सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ।

रातिको समय भएका कारण पुल नजिकै डाइभर्सन निर्माण गरी तत्काल यातायात सञ्चालन गर्न कठिन रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए।

विनयी खोलामा बनेको दुई सय ४६ मिटरको पुल पूर्णरूपमा क्षति पुगेको छ। कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ६० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको हो। ट्रक पुलको बीच भागमा नै फसेको छ।

Untitled
Untitled
Untitled