२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सुवास नेम्वाङ इतिहासले सधैँ सम्झिरहने पात्र हुन् : प्रधानमन्त्री ओली

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले सुवासचन्द्र नेम्वाङ इतिहासले सम्झिरहने पात्र भएको बताएका छन् ।

नेकपा एमालेका तात्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा ओलीले संविधान निर्माण गर्न र जारी गर्न नेम्वाङको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका हुन् ।

उनले भने, ‘उहाँले कुर्सीमा मात्र अध्यक्षता गर्नुभएको थिएन । वैचारिक नेतृत्व पनि गर्नुहुन्थ्यो ।

त्यसैले सुवासचन्द्र नेम्वाङ जी इतिहासले सम्झिरहने पात्र हुन् । उहाँका स्मृति ताजै राख्नका लागि र उहाँको सम्झनारआदर्श पछ्याएर केही काम गरिरहनका लागि हामी सुवासचन्द्रका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौँ ।’

साथै, उनले निष्क्रिय रहेका प्रतिष्ठानलाई सक्रिय बनाउने धारणा राखे । माधव नेपाल पुष्पलाल प्रतिष्ठानको अध्यक्ष भएको र प्रतिष्ठान पार्टीलाई छोड्नुपर्नेमा पार्टी फुटाएर जाँदा कब्जा गरेको उल्लेख गरे ।

उनले भने, ‘पुष्पलाल फुट्नुभएको होइन पार्टी फुटेको हो। माधव नेपालले पार्टी छाडेर जाँदा निजी सम्पत्ति जस्तो गरेर लानुभयो ।’

उनले आमजनताले समाजको गति र परिवर्तनलाई पछाडि फर्काउन नसक्ने धारणा राखे ।

उनले भने, ‘समाज गतिशील र प्रगतिशील छ । कहिले कहिले केही प्रतिगामी तत्त्व, असामाजिक तत्त्व र जनविरोधी तत्त्वहरूले गर्दा देशको बारेमा नसोच्ने, आफ्नो मात्र सोच्ने अवाञ्छित क्रियाकलापबाट समाजमा हाबी हुन सक्छन् ।

अगाडि बढिरहेका गतिमा ब्रेक लाग्न सक्छ तर समाजले त्यसलाई हटाइदिन्छन्। यी कहिलेकाहीँ हुने आकस्मिक घटना हुन् ।’

Untitled
Untitled
Untitled