काठमाण्डू, ट्रेकिङ एजेन्सीज एसोसीयन अफ नेपाल ( टान) को अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डेले उम्मेदवारी घोषणा गरेका छन् ।
विगत दुई दशक भन्दा लामो समयदेखि पर्यटनमा क्रियाशील पाण्डे टानको पूर्वमहासचिव समेत हुन् । अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै उनले आफ्ना प्रमुख एजेन्डाहरु समेत सार्वजनिक गरेका छन् ।
नेपाल पर्यटन व्यवसायी संगठनले सागर पाण्डेलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय केही दिन अघि नै गरिसकेको छ ।
अध्यक्षका उम्मेदवा्र पाण्डेले राहत तथा उद्धार अक्षयकोषको स्थापना, कानूनी परामर्श इकाई र बैंक तथा भ्याट र ट्याक्स परामर्श समिति गठनलाई प्रमुख तीन एजेन्डाका रुपमा अघि सारेका छन् ।
सबै कर्मचारी तथा मजदूरहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने घोषणा गरेका छन् ।
कुनै पनि सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदूर जुनसुकै वेला जुनसुकै समस्यामा पर्दा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित र व्यवहारिक बनाइए राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्न आवश्यक रहेकाले यसलाई पहिलो प्राथमिकतामा राखेको उनको घोषणा छ ।
टानका सदस्य व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार गर्नुपर्ने रोगहरु लागेको अबस्थामा सोही कोषबाट राहत उपलव्ध गराइने कोषको लक्ष्य रहेको छ ।
उनले टानमा एउटा अलग्यै विभागका रुपमा कानूनी परामर्श इकाइको आबश्यकता महसुस गरी कानूनी परामर्श इकाईको गठन गर्ने प्रतिबद्धता अघि सारेको छन् ।
पाण्डेले यसबाट टानका साधारण सदस्यहरुले आफ्नो व्यवसाय सञ्चालनको क्रममा आइपर्ने कानूनी अड्चन, प्रशासनिक अप्ठ्याराहरु तथा अन्य कुनै किसिमको कानूनी परामर्श लिन सक्ने उद्येश्य राखेका छन् ।
समस्या हेरि टानले नै सहजीकरणसँगै समस्या समाधानका लागि पहल समेत गर्ने गरी अघि बढाउने उनको योजना छ ।
पाण्डेको तेस्रो प्राथमिकता बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श समिति गठनलाई रहेको छ ।
प्रत्येक आर्थिक वर्षको अन्त्यमा ट्याक्स/भ्याटको सीमा तथा नियमहरुमा फेरबदल भइरहने हुनाले कतिपय व्यवसायीहरु अलमलमा पर्ने तथा समस्यामा पर्ने गरेको र त्यसका साथै बैंकिङ क्षेत्रसँग जोडिएको कर्जा, व्याज तथा अन्य परामर्शमा पनि यस समितिले सहयोग गर्ने उनको बुझाइ छ ।
समितिले भ्याट, ट्याक्स तथा बैंकिङ क्षेत्रकाबारे जानकारी गराउने, परामर्श दिने तथा आबश्यक प्रकृया पूरा गर्नमा सहजिकरण गर्ने र सम्बन्धित समस्या समाधानमा सहयोग गर्ने छ ।
यसका अलवा हाल देखिएका व्यवसायी समस्या समाधान गर्दै नयाँ पदमार्गहरुको खोजी र भएका पदमार्गहरुको संरक्षण गर्दै पर्यटन प्रर्वद्र्धनमा आफू केन्द्रित हुने घोषणा गरेका छन् ।