२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

१३ महिनामा हामीले कैयौँ साहसिक र जनपक्षीय काम गरेका छौँ : प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको जनमुखी कामले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनतामा आशा र भरोसा बढाउने काम गरेको दाबी गरेका छन्।

नेपाल टेलिभिजनको ३८ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनतामा ‘अब चाँहि केही हुन्छ’ भन्ने सकारात्मक सोंचको विकास र नयाँ आशाको सञ्चार भएको बताए।

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय कामहरू अघि गरिएको बताए।

‘सरकारले गरेको नक्कली भुटानी शरणार्थी काण्डको छानविन, ललिता निवास प्रकरणमा निर्भिकतापूर्वक गरिएको कार्वाही, सुनकाण्डको निष्पक्ष छानविनजस्ता घटनाले राज्यशक्तिको दुरुपयोगमार्फत भएका अपराधकर्मको पर्दाफास गरेको छ’,

प्रधानमन्त्री दाहालले भने, ‘मिटरब्याजपीडितहरूको पक्षमा बनाइएका कानुन, नागरिकताविहीन नेपाली नागरिकका सन्तानका लागि नागरिकता ऐन निर्माण, वैदेशिक रोजगारीमा रहेका, अनौपचारिक एवं स्वरोजगार क्षेत्रमा कार्यरत श्रमजीवीका लागि गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा, राहदानी, सवारी चालक अनुमतिपत्रजस्ता कार्यहरूले जनतामा आशा जगाएको छ।’

सरकारले चालेका सुधारात्मक कदमबाट देशको अर्थतन्त्रसमेत लयमा फर्किइसकेको उनले बताए। ‘दैनिक सेवा प्रवाह गर्ने कार्यालयहरूमा लाग्ने अव्यवस्थित लाइन हटाउने कदम, अस्पतालमा निःशुल्क शय्याको व्यवस्थादेखि स्वास्थ्य क्षेत्रमा सुधार र पाठ्यपुस्तक, मलको आपूर्तिसहित सामाजिक न्यायको क्षेत्रमा गरेको पहलकदमीको सर्वत्र प्रशंसा भइरहेको छ,’ उनले भने।

प्रधानमन्त्री दाहालले वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ‘ग्यारेण्टी’ गर्नेगरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्ने पक्षमा रहेको बताए।

श्रमजीवी पत्रकारका लागि निर्मित कानूनको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वका रूपमा स्थापित गरिने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।

कोभिड–१९ र विश्वमै आएको आर्थिक मन्दीका कारण केही वर्षदेखि नेपालको विज्ञापन बजार खुम्चिएकाले नेपालका सञ्चारमाध्यमले भोग्नुपरेका समस्याबारे आफू जानकार रहेको उनले बताए।

Untitled
Untitled
Untitled