२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

ललिता निवास प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ अनुमति, मुलुकी ऐन-२०२० अनुसार मुद्दा चलाइने

Untitled
Untitled
Untitled

काठमाण्डौ, ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले कुल ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ अनुमति लिएको छ।

सीआईबीले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। सीआईबीले मंगलबार सरकारी लिखत कीर्ते गरेर काठमाण्डौको बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा ७ जनालाई पक्राउ गरेको थियो।

तीमध्ये यसअघि नै अदालतबाट स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा भएका छन्।

विषेश अदालतमा मुद्दा विचाराधीन रहेका बेला आफूहरुलाई सरकारी कागज कीर्तेमा मुद्दा चलाउन लागेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले मुलुकी अपराध संहिता २०७४ मा ‘सार्वजनिक लिखत कीर्ते गरेको थाहा भएको मितिले २ वर्ष नाघेपछि उजुर लाग्ने छैन’ भनिएकाले पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। यही आदेशका आधारमा ३ जना छुटेको पत्रकार सम्मेलनमा स्पष्ट पारिएको छ।

पक्राउ पर्ने अन्यमा पूर्वआयुक्त सुधीर शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, डिल्लीबजार मालपोत कार्यालय तत्कालीन खरदार गोपाल कार्की र शाखा अधिकृत धर्मप्रसाद गौतम छन्।

यस प्रकरणमा जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, ललिता निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जनालाई पक्राउ गर्ने अनुमति लिइएको पत्रकार सम्मेलनमा जारी गराइएको छ।

यो प्रकरणमा सीआईबीले मुलुकी ऐन २०२० अनुसार मुद्दा चलाउने पनि जानकारी दिइएको छ। यो ऐनअनुसार सरकारी लिखित कीर्तेमा हदम्याद लागू नहुने बताइएको छ।

पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा थप अनुसन्धान प्रक्रिया अगाडि बढ्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

 

Untitled
Untitled
Untitled