काठमाडौं, सोमबार ल्होत्से मलमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी मनोज केसीका अनुसार यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइल चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
उनले भने, ‘भिडियोमा देखिएका मुख्य मुख्य व्यक्तिलाई समातिसकेका छौं, थप केही निगरानीमा छन् ।’ पक्राउ परेकामध्ये ७ जना महानगर, बाइसधारा र तारकेश्वर यातायातका चालक र सह–चालक छन् ।
पक्राउ परेकामध्ये अरु केही तोडफोड र आगजनीमा संलग्न व्यक्ति पनि छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले सोमबार भएको घटनामा चार जनालाई पहिल्यै नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।
मोबाइल चोर्दा चोर्दै सुरक्षागार्डले नियन्त्रणमा लिएर उनीहरुलाई प्रहरीको जिम्मा लगाएका थिए ।
सामाजिक सञ्जालमा देखिएको त्यसबेलाको भिडियो र फोटोहरुका आधारमा अनुसन्धान गरी संलग्नलाई पक्राउ गरिएको एसएसपी डा. केसीको भनाइ छ ।