काठमाण्डू, राजधानीको दरबारमार्ग क्षेत्रमा गैँडाको खाग खरिद–बिक्री भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
बुधबार दरबारमार्गस्थित एक होटलमा दुर्लभ वन्यजन्तुको अंग कारोबार भइरहेको जानकारीपछि प्रहरी टोलीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेकाहरूको साथबाट गैँडाको खाग बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काठमाडौंको न्युरोड बस्ने ५० वर्षीय संजयमान सिंह श्रेष्ठ, तनहुँ ऋषिङ गाउँपालिका–१ घर भई हाल काठमाडौंको बाँसबारी बस्दै आएका ४५ वर्षीय रामहरि गिरि तथा पाल्पाको माथागढी गाउँपालिका–१ का ६० वर्षीय रामेश्वर पन्थी रहेका छन् ।
प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाएको जनाएको छ ।
वन्यजन्तुसम्बन्धी अवैध कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडा बनाइएको प्रहरीले उल्लेख गरेको छ ।


































