२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

Untitled
Untitled
Untitled

काठमाण्डू, महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर दर्शनका लागि आएका नागा बाबा तथा साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिँदैछ ।

फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई फाल्गुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा अनुसार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो ।

संस्थानका अनुसार बिदाइका लागि करिब ३० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

नागा बाबालगायत साधुसन्तलाई विभिन्न रङका कार्ड वितरण गरिएको र कार्डअनुसार स्तर निर्धारण गरी दक्षिणा प्रदान गरिने व्यवस्था छ ।

नेपाल बाहिरबाट आएका साधुसन्तलाई सीमा नजिकसम्म पुग्न सहयोग होस् भनी दक्षिणा केही बढाइएको जनाइएको छ ।

यस वर्ष पशुपति परिसरका गोरखनाथ मठ, आर्यघाटपारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा लगायत स्थानमा चार हजारभन्दा बढी साधुसन्त बसेका छन् ।

कोषका अनुसार दान–दक्षिणाका लागि आठ लाख रुपैयाँ छुट्याइएको छ ।

२० जनालाई पाँच हजार एक, दुई सय जनालाई एक हजार एक, एक हजार जनालाई ७०१, एक हजार जनालाई ५०१, एक हजार तीन सय जनालाई ३०१, सबै जोगीलाई २०१ र लाइनमा बस्ने सबैलाई १०१ रुपैयाँ दक्षिणा दिइनेछ । साथै, वर्षभर चढाइएका रुद्राक्ष पहिराएर साधुसन्तलाई बिदाइ गरिने तयारी गरिएको छ ।
महाशिवरात्रिमा धुनी जगाउन पशुपति परिसरभित्र पाँच दिन र बाहिर चार दिनका लागि करिब ५० हजार किलो दाउरा खरिद गरिएको छ ।

भेटीघाटी पारदर्शी व्यवस्था लागू भएयता कोषको भेटी बाकसमा जम्मा भएको रकम १५ करोड रुपैयाँ पुगेको जनाइएको छ ।

यसैबिच, शिवरात्रि मेलापछि पशुपति क्षेत्र फोहरले भरिएको भन्दै स्थानीयवासी र दर्शनार्थीले गुनासो गरेका छन् ।

कोषले भने लाखौँ भक्तजनको आगमनका कारण फोहर बढेको स्वीकार गर्दै सफाइ कार्य शुरु भइसकेको र छिट्टै पूर्ण रूपमा सम्पन्न हुने जनाएको छ ।

Untitled
Untitled
Untitled