२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

ब्राण्डिङका नाममा भक्तपुरको रोयल थाईमा आयातित गुन्द्रुक र थाई सुप तोमयाम एउटै मेनुमा

Untitled
Untitled
Untitled

भक्तपुर, भक्तपुरको रोयल थाईमा गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ ।

नेपाली खाना प्रवर्धन गर्न भोजनलिपि स्वाद र रोयल थाइ हस्पिटालिटीले दुवै देशका खानाहरुको प्रस्तुति गरेका हुन् ।

दुवै देशका गरी करिव १ दर्जन परिकार प्रस्तुत गरिएको छ । नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात हुने गर्छ भन्दा पत्याउन असहज होला । तर, यो यथार्थ हो ।

भारत, चीन लगायतका देशबाट अहिले वार्षिक अर्बौं रुपैयाँको खाद्यान्न नेपाल भित्रिने गरेको छ । अर्वौंको गुन्द्रुक आयात गरेर नेपालीलाई नै खुवाउनु पर्ने अवस्था छ ।

तारे होटलमा गुन्द्रुक ब्राण्डिङका नाममा हुने यस्ता कार्यक्रम भन्दा किसानलाई गुन्द्रक उत्पाद न देखि भण्डारण गर्ने विधि सिकाउन सके आयातमा कमी हुने थियो भने स्वदेशी उत्पादन बढाउन सहयोग पुग्ने थियो ।

नेपाल आएका पर्यटकलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने कुनै योजना छैन् भने अधिकांश स्टारवाला होटल तथा रेष्टुरेण्टलाई पनि स्वदेशी भन्दा विदेशी आयातित नै उत्तम लाग्ने गरेको छ ।

स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेमा स्वदेशी उत्पादन बढनुका अलावा आर्थिक आयको दर्विलो स्रोत बन्ने थियो ।

गुन्द्रुकको परिकार तयार पार्नेदेखि ब्यासिायी समेत आयातित बस्तसमै रमामउँदा गाउँघरमा उत्पादन भएको ताजा खेर जाने गरेको छ ।

अहिलेको पुस्ता गुन्द्रुक भनेपछि हुरुक्कै हुन्छ। ढिँडो र गुन्द्रुक चाख्न अब गाउँ होइन, शहरका तारे होटल अनि रेस्टुरेन्टमा खोज्नुपर्छ।

विदेशी पर्यटकले पनि नयाँ स्वादको खोजी गर्दै गर्दा गुन्द्रुक लोकप्रिय बन्दैछ। अर्थात् ढिँडो र गुन्द्रुक फरक परिकारका रूपमा ब्रान्डिङ भएका छन्।

गुन्द्रुकसँग सम्बन्धित एउटा पुरानो उखान ‘गुन्द्रुकलाई पकाउनु पर्दैन, सालीलाई फकाउनुपर्दैन’ हामीबीच लोकप्रिय पनि छ।

विश्वमा नेपालको चिनारी दिने परिकार हो गुन्द्रुक। तिब्बत, भुटान, सिक्किम, दार्जिलिङमा पनि गुन्द्रुकको प्रचलन छ।

कतार, मलेसियादेखि युरोप, अमेरिकासम्मका नेपालीले कोसेलीका रूपमा गुन्द्रुक बोक्ने गर्छन्।

हुन त तनहुँको भानु नगरपालिकाले स्थानीय उत्पादन गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएर कार्यान्वयनको भरणमा छ ।

‘भानु गुन्द्रुक’ नामक ब्राण्ड बनाएर यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने नगरपालिकाको लक्ष्य छ।

उता इलामको रोङ गाउँपालिकाले गुन्द्रुक र सिन्की ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ।

पालिकाले स्वीस सरकार सहयोगमा नेपाल कृषि बजार विकास कार्यक्रमसँगको सहकार्यमा गुन्द्रुक र सिन्की ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको हो।

देवानछाप साना किसान कृषि सहकारीले कार्यक्रम संचालन गर्नेछ। ६७ लाख ८५ हजार रुपैयाको कार्यक्रमका लागि स्वीस सरकारले ३४ लाख ४५ हजार रुपैया उपलब्ध गराउनेछ ।

पालिकाले १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार लगानी गर्नेछन्।

देवानछाप सानाकिसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योग मार्फत उत्पादन, ब्रान्डिङ, प्याकेजिङ्ग, मार्केटिङ्ग को सबै कार्य गर्ने रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो सुवासले बताए।

उनका अनुसार यस वर्ष कम्तीमा ३ सय र बढिमा १ हजार केजी उत्पादन गर्ने लक्ष्य रहेको छ।

चालूू वर्षको नीति कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवद्र्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न ३ लाख, बीउका लागि २ लाख, प्रतिकिलो अनुदानका लागि ३ लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न २ लाख रुपैयाँ विनियोजन गरेको छ।

गुन्द्रुक गुणी खान्की पनि हो। गुन्द्रुकमा विभिन्न पौष्टिक तत्त्व पाइन्छ। गुन्द्रुकमा पर्याप्त कार्बोहाइड्रेट र प्रोटिन पाइन्छ।

प्रतिसय ग्राम गुन्द्रुकमा दुई सय ३५ मिलिग्राम क्याल्सियम पाइन्छ, जो सागमा पाइनेभन्दा धेरै हो।

त्यस्तै प्रतिसय ग्राम गुन्द्रुकमा ६ सय ७७ मिलिग्रामसम्म पोटासियम तत्त्व पाइन्छ। शरीरमा रसजन्य पदार्थको नियमन गर्न र रक्तचापलाई सामान्य अवस्थामा राख्न पोटासियम नभई हुँदैन।

गुन्द्रुकमा फलाम तत्त्व पनि प्रशस्त पाइन्छ, जुन हाम्रो शरीरलाई आवश्यक हुन्छ। गुन्द्रुकमा शरीरलाई चाहिने प्रशस्त मात्रामा खनिज तत्त्व हुन्छ। त्यस्तै गुन्द्रुकमा सोडियम पनि प्रशस्त हुन्छ।

यसमा रेसादार तत्त्व पनि मनग्य हुने हुँदा कोलेस्ट्रोललाई घटाउन निकै मद्दत गर्छ। जाडोमा तात्तातो गुन्द्रुकको झोल पिउँदा शरीर फुर्तिलो हुने र चिसोबाट पनि जोगिन सकिन्छ।

गुन्द्रुक हरियो सागबाट बनाइने भएकाले यसमा भिटामिन ए, सी, डी र के पनि प्रशस्त पाइन्छ।

गुन्द्रुकमा भिटामिन ए हुनाले आँखाको स्वास्थ्यका लागि उपयोगी हुन्छ। गुन्द्रुकको नियमित सेवनले आँखा चिलाउने, आँखा दुख्ने, आँखा सुक्खा हुनेजस्ता समस्यामा कमी आउँछ।

त्यसैले गुन्द्रुकको सेवनले आँखालाई फाइदा गर्छ। त्यस्तै गुन्द्रुकमा भिटामिन ‘डी’ र ‘के’ हुनाले हड्डीलाई समेत मजबुत बनाउँछ।

कोलेस्ट्रोरको समस्या भएकाले पनि गुन्द्रुकको सेवनबाट लाभ उठाउन सक्छन्।

ग्यास्ट्रिक र अल्सरका बिरामीले पनि गुन्द्रुकको सेवन गर्दा फाइदा गर्छ। स्मरणशक्ति कम हुनेहरूले रायोको गुन्द्रुक सेवन गर्दा राम्रो हुन्छ।

नेपालको मौलिक खाना भएकाले तथा आधुनिक पुस्तामा पनि लोकप्रिय हुँदै गरेकाले गुन्द्रुकलाई प्रवर्धन गर्न सके यसले राम्रो बजार पाउँन सक्छ।

अहिले गुन्द्रुकको माग राम्रो छ। अझै मागअनुसार स्वदेशी गुन्द्रुकको पुर्‍याउन नसकेर चीनबाट पनि विदेशी गुन्द्रुक आयात गर्नुपरेको छ। यो हाम्रा लागि लाजमर्दो कुरा हो।

बजारको माग अनुसार कृषिजन्य वस्तु उत्पादन गर्न नसक्दा यो स्थिति आएको हो ।

कृषि पेसालाई सम्मानजनक रूपमा नलिइँदा धेरै युवा रोजगारीका लागि बिदेसिन थालेपछि भूमि बाँझो हुने र उत्पादनमा कमी आएकाले आयात गर्नुपर्ने स्थिति आएको हो ।

हालसम्म तीव वटा वस्तुमा मात्र मुलुक आत्मनिर्भर छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार अन्डा, कुखुराको मासु र बंगुरको मासुमा नेपाल आत्मनिर्भर बनेको हो ।

उर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्तरुपमा स्वाद लिएर दुवै परिकारको प्रवर्धन अभियान शुरु गरेका थिए ।

कार्यक्रममा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्वलाई जोड दिए ।

नेपाल र थाइल्याण्डको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली भोजनको अन्तर्राष्ट्रिय प्रचार प्रसारका लागि भोजनलिपि स्वाद कार्यक्रमको महत्त्वलाई मन्त्री खड्काले उच्च मूल्याङ्कन गरेका थिए ।

नेपालका लागि थाइ राजदूत सुवापोङ सिरिसोर्न र रोयल थाइका सञ्चालक गणेश ढकालले नेपाली र थाई खाद्य संस्कृति बीचको सम्वन्धलाई सुदृढ बनाउन दुवै देशकातर्फबाट प्रवर्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताएका थिए ।

खाना प्रदर्शनीका अतिरिक्त हरितालिका तीजको अवसरमा महिलाहरुलाई दर खुवाउने विशेष कार्यक्रम पनि राखिएको थियो ।

नेपाली खानाको तयारीमा सेफ घनश्याम कँडेल, टंकराज मगर, इङ्वा सुब्बा, मानबहादुर तामाङ लगायतले सहयोग गरेका थए ।

भोजनलिपि स्वाद अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित अनुसन्धानमूलक प्रस्तुति हो ।

नेपाली खानालाई नेपालभित्र र नेपाल बाहिरका तारे होटलहरुमा बिक्रीको व्यवस्था मिलाउन खानाको गुणस्तर सुधारमा ल्याउन लाग्ने लाग्‍ने प्रतिवद्धता सहभागी सेफहरुले जनाएका थिए ।

Untitled
Untitled
Untitled