काठमाण्डू, नेकपा (एकीकृत समाजवादी) र नेकपा राष्ट्रिय एकता अभियानबीच आज औपचारिक एकता घोषणा हुँदैछ।
गत शुक्रबार वामदेव गौतम र माधव नेपालबीचको सहमतिअनुसार एकता घोषणा हुन लागेको हो। सहमति अनुसार गौतम पार्टीमा तेस्रो वरीयताका वरिष्ठ नेता हुनेछन्।
अध्यक्ष माधव नेपाल पहिलो, झलनाथ खनाल दोस्रो र गौतम तेस्रो वरीयतामा रहने व्यवस्था गरिएको छ।
पाँच वर्षअघिदेखि नेकपा एकता अभियान सञ्चालन गर्दै आएका गौतम अन्ततः समाजवादीमा समाहित हुन लागेका हुन्।
यसअघि एमाले र समाजवादी दुवैतर्फ छलफल भएपनि उनी कुनै पार्टीमा प्रवेश गर्न सकेका थिएनन्।
गौतमले एमाले सचिवालयसँग सहकार्य गरे पनि उचित स्थान नपाएको भन्दै समाजवादी रोजेका हुन्।
ओली र प्रचण्डबीचको अन्तरविरोधका बेला गौतम प्रचण्ड-माधव पक्षमा रहेका थिए।


































