काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा बिहीबार आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको सङ्ख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भएपनि रोग पूर्ण उन्मुलन नभएसम्म आफूहरू सन्तुष्ट नहुने बताए ।

प्रधानमन्त्री ओलीले पहिला पहिला आशीर्वाद दिइँदा पाचन प्रणाली राम्रो होस् भनेर दिइने स्मरण गर्दै आहार–बिहार र हेरचाहलाई सहीरूपमा गरेर स्वस्थ्य रहन सकिने र कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमै सञ्चालन गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आफूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गौला फेल भएको सन्दर्भ उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।

रोग लुुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्री ओलीले आग्रह पनि गरे ।
































