काठमाण्डू, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणसँग तत्काल खर्च गर्न सकिने पर्याप्त क्यास (नगद) रकम नभएको स्पष्ट पारेका छन् ।
शुक्रबार सार्वजनिक गरिएको श्वेतपत्रमार्फत उनले प्राधिकरण आर्थिक दबावमा रहेको बताउँदै भुक्तानी दिन नसकेको स्थिति विवरण दिएका हुन् ।
उनका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ठेक्का–पट्टासम्बन्धी बाँकी भुक्तानी रकम ११ अर्ब ६१ करोड रुपैयाँ रहेको छ ।
शाक्यका अनुसार प्राधिकरणको केन्द्रीय कोषमा करिब १० अर्ब १० करोड रुपैयाँ मौज्दात रहे पनि त्यसमध्ये तत्काल खर्च गर्न सकिने रकम सीमित छ ।
उनले विवरण दिँदै भने, ‘मुद्दती खातामा ३ अर्ब ६८ करोड, धरौटी खातामा ३ अर्ब ९५ करोड र चालूरकल खातामा २ अर्ब ४७ करोड मात्रै रहेको छ, जुन दैनिक सञ्चालनका लागि न्यूनतम् जगेडा हो ।’
निर्माण आयोजनाहरूको भुक्तानीका लागि पर्याप्त रकम नरहेकाले प्राधिकरणले १० अर्ब रुपैयाँसम्मको अल्पकालीन ऋण लिन प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।
शाक्यले कर्मचारीसम्बन्धी दायित्वबारे समेत विवरण सार्वजनिक गरे। उनका अनुसार आर्थिक वर्ष २०८०र८१ सम्मका लागि प्राधिकरणको कर्मचारीतर्फको अल्पकालीन र दीर्घकालीन दायित्व ४७ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
त्यस्तै धरौटी बापतको दायित्व २४ अर्ब ११ करोड रुपैयाँ छ भने नेपाल सरकारलाई तिर्नुपर्ने ऋणको ब्याज २९ अर्ब ५० करोड र भारतको टनकपुर विद्युत् वापत ३ अर्ब रुपैयाँ गरी कुल ३२ अर्ब ५० करोड रुपैयाँ तिर्न बाँकी रहेको जानकारी श्वेतपत्रमा उल्लेख गरिएको छ ।
श्वेतपत्रमार्फत प्राधिकरणले चालू आर्थिक वर्षमा देखिएको नगद संकट, दायित्वको अवस्था र आगामी चुनौतीबारे सरोकारवालालाई सूचित गराएको छ ।


































