२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

३१औँ पटक सगरमाथाको आरोहण गर्दै कामीरिता, आफ्नै कीर्तिमान तोड्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, ३०औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण कामीरिता शेर्पाले यस पटक ३१ औँ पटक फेरी आरोहण गर्ने भएका छन् ।

उनी आरोहणका लागि आधार शिविर तर्फ हिँडी सकेका छन् । विश्वबाटै सबै भन्दा धेरै पटक सगरमाथाको आरोहण गर्ने आरोही कामीरिता हुन ।

उनले यस पटक आफ्नो विश्व कीर्तिमान आफैले तोड्ने भएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण साहसिक मात्रै नभई जोखिमपूर्ण र संवेदनशील यात्रा हो ।

हिउँको ढिस्को पन्छाएर ढुङ्गाको पहरो छिचोल्दै चुचुरोमा पुग्नु आफैँमा साहसिक र चुनौतीपूर्ण कार्य हो ।

कामीरिताले यसपटकको वसन्तयाममा ३१औँ पटक सगरमाथा आरोहण गरेर यसअघि आफ्नै नाममा रहेको विश्वकीतिर्मान तोड्न लागेका हुन ।

उनले सन् २०२३ को आफ्नै नामको २८ पटकको रेकर्ड तोड्दै सन् २०२४ मा ३०औँ पटक रेकर्ड दर्ता गराएका थिए ।

पुनः त्यो रेकर्ड तोड्न ३१औँ पटक सगरमाथाको शिखर चुम्न केही दिनपछि त्यसतर्फ जाने शेर्पाले जानकारी दि छन् ।

“सगरमाथा आरोहणका लागि एक÷दुई दिनपछि जाँदैछु, यो ३१ पटकको आरोहण हो । कतिपटक सगरमाथा चढ्ने भन्ने विषय आरोहण क्षेत्रको मौसम र अवस्थाले निर्धारण गर्छ”, उनले भने ।

आरोही शेर्पाले सगरमाथा आरोहण कुनै रेकर्डका लागि नभई आफ्नो नियमित काम भएको जिकिर गरे ।

मेरो यो पेशा हो कीर्तिमान होइन । एकतिसौँ पटक जीवनको प्रवाह नगरी जोखिमपूर्ण सगरमाथा यात्रा गर्ने आरोहीको सामाजिक सुरक्षाका लागि भने राज्यले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

शेर्पाले हिमाल सफाइका लागि बजेट र जनशक्ति व्यवस्थापन गरिनुपर्ने खाँचो औँल्याउनुभयो । यसका साथै ३०औँ पटक सगरमाथाको चुचुरोमा पुग्दा आरोही शेर्पाले जलवायु परिवर्तनका कारण हिमाल पग्लिएकामा चिन्ता लागेको बताउनुभयो ।

सगरमाथामा पहिलोपटक मानवपाइला टेकिएको ७२ वर्षको अवधिमा ३०औँ पटक सफल आरोहणको कीर्तिमान कायम गर्ने उहाँको रेकर्ड कसैले तोड्न सकेको छैन ।

तर, प्रकृतिले भने हरेक पटकजसो सगरमाथाको प्राकृतिक स्वरुपको ‘रेकर्ड’ तोड्दे गएको आफूले महसुस गरेको शेर्पाले सुनाए ।

“मेरो रेकर्ड कसैले तोड्न सकेको छैन । सगरमाथा आरोहणमा विश्वकीर्तिमानी कायम गर्ने एक्लो प्रतिस्पर्धीका रूपमा छु, यस हिसाबले खुसी छु तर सगरमाथाको सुरुको स्वरूपमा अहिले निकै बद्लाव आएको छ ।

हरेक पटक आरोहण गर्दा केही न केही समस्या देखिरहेको आभाष गरेको छु । यसले खिन्न बनाइरहेको छ”, उनले भने ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेका ५५ वर्षीय कामीरिता कुशल पर्वतारोही पथप्रदर्शकसमेत हुन ।

सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेका उहाँका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङदावा शेर्पाले २८ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका थिए ।

कामीरिताले सगरमाथा रेकर्ड ब्रेक गर्ने होडमा नभई आफ्नो पेसा नै हिमाल आरोहणसँग जोडिएकाले ‘चढ्दा चढ्दै रेकर्ड’ बनेको बताए ।

जोखिमपूर्ण र संवेदनशील यात्राका रूपमा लिइने सगरमाथा आरोहणका क्रममा केही वीरवीराङ्गनाले सगरमाथाकै नाममा अफ्नो जीवन उत्सर्ग गरेका छन् ।

एक तथ्याङ्कअनुसार हालसम्म ४०० भन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् ।

यसर्थ आरोहीहरूको सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने अध्यक्ष शेर्पाको भनाइ छ ।

पर्वतारोहणसम्बन्धी (छैटौँ संशोधन) नियमावली २०८१ जारी भएपछि कीर्तिमान राख्ने आरोहीले आरोहण अनुमति लिएर मात्रै कीर्तिमानलाई मान्यता दिइने उल्लेख छ ।

सोहीअनुरुप थप कीर्तिमान बनाउन आरोहीहरू सगरमाथामा लामबद्ध भएका हुन् ।

कुनै आरोही कीर्तिमानी गर्ने हो भने त्यसका लागि पर्यटन विभागमा निवेदन दिएर राज्यका निकायबाट अनुमति लिएर जानुपर्ने हुन्छ ।

पर्यटन विभागका अनुसार बुधबारसम्म यस सिजनका लागि ३० आरोही समूहका ५८ महिला र २५३ पुरुष गरी कुल तीन सय ११ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् ।

हिमाल आरोहणमार्फत रु ५२ करोड ६४ लाख रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । सगरमाथाबाट मात्रै रु ४६ करोड ‘रोयल्टी’ सङ्कलन भएको जनाइएको छ ।

विभागका निर्देशक लिलाधर अवस्थीका अनुसार बुधबार साँझसम्म विभिन्न २१ हिमाल आरोहणका लागि ७४ आरोही समूहले अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि निकै कठिन मानिएको खुम्बु आइसफलसम्मको बाटो निर्माणसम्पन्न भएको विभागले जनाएको छ ।

आइसफलका डाक्टरहरूले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको निर्देशक अवस्थीले बताए ।

उनले सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनिसकेकाले अब केही दिनमै दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउन दक्ष शेर्पाको टोली खटिने जानकारी दिए ।

सगरमाथा आरोहणको इतिहास दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखमा बनाएका थिए ।

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एन्ड फिगर–२०२३’ का आरोहण सुरु भएयता हालसम्म सात हजार ६२६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् ।

सन् २०२३ र २०२४ को आरोही सङ्ख्या जोड्दा आठ हजार बढी हुन आउँछ । आरोहीले नयाँनयाँ कीर्तिमानसमेत थप्दै आएका छन् । कतिपयले यात्राकै क्रममा ज्यानसमेत गुमाउने गरेका छन् ।

Untitled
Untitled
Untitled