२०८१ जेठ ६ आइतवार | Sunday, May 19 2024

गठबन्धन भत्कनु र बन्नुको खास कारण

आफ्नै घृणा, गाली र निन्दाले पुरेका पात्रलाई यथा अवस्थामै उठाएर आफ्नो निर्णायक परममित्र र सहयात्री बनाउनु सभ्य समाजका लागि आफ्नै बेइज्जतीपूर्ण पतनको द्योतक हो । तर ‘कमरेड’ भएपछि यो सबै सहज र स्वाभाविक हुँदोरहेछ कि । वर्तमान सत्ता गठबन्धन, संरचना र स्वरूपले नैतिकता, लोकाचार र लाज भन्ने कुरा नेपालको राजनीतिबाट पूर्णतया लोप भइसकेको जनाउ दिएको बुझ्नु भ्रम नहोला ।

अघिल्लो हप्ताको सोमबारदेखि मुलुकले पाँचदलीय गठबन्धन सत्तालाई विस्थापित गरी सातदलीय र केही निर्दलीय (स्वतन्त्र) सम्मिलित गठबन्धन सरकार पाएको छ । मजस्ता धेरै राजनीतिक पर्यवेक्षकहरूले अनुमान लगाइरहेका थिए(निर्वाचन सकिएर कांग्रेसबाट लिन सकिनेजति सबै लिएपछि प्रचण्ड नेतृत्वको माओवादीले कांग्रेस सभापति देउवा र कांग्रेसलाई फेरि त्यस्तै धोका दिन बेर नलाग्ला, जसरी २०६५ मा पहिलो संविधानसभाको निर्वाचन सकिएपछि उसले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन समर्थन गर्ने आफ्नै वाचाको विपरीत गएर रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिका लागि काँध हालेको थियो । सोही धोकेवाज चरित्र हालै दोहोरियो ।

जुन गठबन्धनलाई स्याहार्न नेपाली काँग्रेसले निर्वाचनमा उम्मेदवारीको संख्या खण्डित गर्नुपरेको थियो, त्यो क्षतिको लेखाजोखा त भएकै छैन । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले ७५३ नगर र गाउँपालिकामध्ये ६३२ वटा पालिकाहरूमा मेयर र अध्यक्षका लागि उम्मेदवारी दिन पायो । कतिपय महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूका मेयरको उम्मेदवारीको लागि गठबन्धनका घटक दलहरूका लागि चढाउनु परेको बलिदानले गर्दा कांग्रेस संरचनागत रूपमा खण्डित र अपांग भयो र प्राप्त हुने जनमतबाट पनि वञ्चित हुनपुग्यो । पालिका उपप्रमुख वा उपाध्यक्ष र वडाध्यक्षका लागि पनि सोही अनुपातको घाटा कांग्रेसले बोक्नुपरेको छ ।

गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन समर्थन गर्ने आफ्नै वाचाको विपरीत गएर माओवादीले २०६५ मा जुन धोका दिएको थियो, सोही धोकेवाज चरित्र हालै कांग्रेसमाथि दोहोर्‍यायो ।

प्रतिनिधिसभाका १६५ निर्वाचनक्षेत्र मध्ये गठबन्धन टिकाउन ७४ स्थानलाई त्यसैगरी तिलाञ्जलि दिएर बल्लतल्ल ९१ क्षेत्रमा मात्र कांग्रेसले उम्मेदवारी दिन पायो । प्रदेशसभाको उम्मेदवारीमा पनि यसैगरी खुम्चिनुपरेको छ । अहिले गठबन्धन सत्तामात्र गुमाएको होइन, जनप्रतिनिधि संस्थाका धेरै पदाधिकारी कांग्रेसले गुमाउनुपरेको छ ।

दोष कसको ?
नेपाली राजनीतिमा ‘बिग्रे दोषादोष सप्रे खोसाखोस्’ भन्ने उखान प्रचलित छ । गठबन्धन र सत्ता दुवै गुमाएपछि हाल कांग्रेसभित्र दोष पन्छाउने र आफू निर्दोष हुन खोज्ने धृष्टता चलिरहेको छ । सभापति देउवाको प्रतिरक्षा गर्नेहरू पनि मुढाग्रही तर्कका साथ दोष बाँडिरहेका होउन् तर वास्तविकता जगजाहेर भइसकेको छ । र, अब यो विषय इतिहास लेखकहरूको सामग्री बनिसक्यो ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक निर्णय र त्यसअघि गठित कार्यदलको सुझावलाई छोडौँ । पुष्टि भइसकेको घटना अनुसार, पुस ९ गते शनिबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा देउवापत्नी आरजूले आफ्नो पक्षका केही सांसदहरूलाई भेला गरेर राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले कुनै हालतमा नछोड्ने दबाब तत्कालीन प्रधानमन्त्री देउवालाई दिन र यसबारे सकेसम्म बोल्न र लेख्नको लागि जोड दिएपछि मन्त्रीपद र अन्य प्रलोभनलाई अगाडि राखेका सांसदहरूले सोही बमोजिम आज्ञापालन गरे ।

त्यसै दिन चार बजेतिर बसेको गठबन्धनको बैठकमा देउवाले आरजुको इच्छा मुताबिकको निर्णय माओवादी अध्यक्ष प्रचण्डलाई सुनाएपछि उनी यो गठबन्धनमा बसिरहँदा प्रधानमन्त्री हुन नपाउने बुझेपछि एमाले अध्यक्ष खड्गप्रसाद ओलीसँगको आफ्नो वार्तालाई निर्णायक मोड दिएका हुन् । भोलिपल्ट आइतबार दुई बजेतिर कांग्रेस नेतृत्वको गठबन्धन भत्कियो । आइतबार चार बजेतिर एमाले र अन्य पार्टीहरू समेतको समर्थन लिएर प्रचण्ड राष्ट्रपति निवासमा सरकार गठन गर्ने दाबी बोकेर पुगिससकेका थिए ।

कांग्रेस सभापति देउवाका दोष सामान्य छैनन् । कांग्रेससँग गठबन्धन टिकाउन प्रचण्डले जुन प्रयास गरिरहेका थिए, उता एमालेसँग पनि नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ्जस्ता सहकर्मी नेताहरू परिचालन गरेर जोडतोडको विकल्प खुला गरेका थिए । एमाले पनि गठबन्धन भत्काएर सत्ता हत्याउन चूप लागेर बसेको थिएन । जुनसुकै ताजा जानकारी तुरुन्त पाउन सक्ने सुविधायुक्त प्रधानमन्त्री हुँदा पनि यस्ता गतिविधिदेखि विल्कुल बेखबर भएर बस्नु देउवाको गम्भीर अक्षमता हो । पत्नी आरजुको मैमत्तापन र अल्पबुद्धिको शिकार उनैले हुनुपरेको विडम्बना त छँदैछ ।

सभापति देउवा र हिजोका देउवा ?
२०३६ सालमा बीपी कोइरालाले ‘सुदूरपश्चिमको कमाण्डर शेरबहादुर’ भनी जिम्मा दिएको अवस्थामा आजका पार्टी सभापति देउबा, आचरणमा इमानदारीका लागि अतुलनीय युवानेता मानिन्थ्यो । अविवाहित, अत्यन्त सादा जीवन, सम्पत्ति तथा सत्ताको आशक्तिभन्दा माथि उठेका, बेदाग, सन्तुलन मिलाउन सिपालु, मिलनसार, गाउँबाट आएको झल्किने व्यक्तित्व इत्यादि वैयक्तिक मानवीय गुणबाट सुसज्जित थिए उनी । तर, आज ब्यवहारकुशलता, चिन्तन र परिणाममुखी हुने कलामा सभापति देउबा स्खलित, थकित, क्लान्त र कमजोर देखिन्छन् । बीपीसँग हिँड्दाको देउवाका शालिनता, समर्पणभाव, लोभरहित आचरण बुझेकाहरू वर्तमान चालामालालाई हेरेर बीपी कोइरालाको सान्निध्य पाएको नेता भन्न नसकिने गरी आनीबानी बिग्रेको बताउँछन् ।

जनस्तरमा कांग्रेसप्रतिको आकर्षण यथावत छ तर नेताहरूको मोर्चाजस्ता गुटबन्दी, आपसमा हानाहान, तानातान र अकर्मन्यताले गर्दा त्यस्ता आकर्षण, जनसमर्थन र महत्वलाई भष्मासुर प्रवृत्तिका कारण सुनको पित्तल बनाउने दुस्साहस निरन्तर चलिरहेको छ । ‘खत्तम’ को विरोध नै ‘उत्तम’ भएको प्रमाण होइन, लोकतन्त्रको रित्तो ढ्वाङ् भएको सवुत हो । पार्टीको संगठनात्मक संरचना लथालिङ हालतमा छ । भातृसंस्थाहरूको अधिवेशन भएको छैन । विदेशका सम्पर्क समितिहरूमा उग्रविभाजन, गुटबन्दी र पानी बाराबारको अवस्था छ । पार्टीले निर्णय दिनुपर्ने कयौं महत्वपूर्ण विषय केन्द्रीय कार्यसमितिमा प्रवेश नै हुँदैनन्, निर्दलीय तरिकाले त्यसको आफूखुशी टुंगो लगाइन्छ । अर्कातिर पार्टीमा महत्वपूर्ण निर्णयको नाममा मनपरी निर्णय गर्ने काम भइरहेका हुन्छन्, जो कालान्तरमा कांग्रेसको लागि नै गलपासो बन्न पुग्छन् ।

पार्टी(सभापतिले सिंगो पार्टीको साझा आवाज बोल्नुपर्ने हो । कांग्रेसको राजनीतिक जीवनमा इतिहासका कतिपय सन्दर्भ प्रकारान्तरले दोहोरिएर आएको पाइन्छ । त्यो अवस्थामा बीपी, गणेशमानजी, सुवर्णजी, सूर्यबाबुजस्ता राजनेताले कसरी समस्याको निराकरण गरेका थिए भन्ने सवालमा आजका पार्टी सभापतिलाई ती सन्दर्भ र समाधानमा अपनाइएका उपाय बताउन सक्छन् तर यतातिर उनलाई मतलब नै भएको देखिँदैन ।

कांग्रेसका अग्रज नेताहरूलाई पार्टी भए पुगेको थियो, छुट्टै चाहिएको केही थिएन । आजका नेताहरूलाई सबै कुरा आपैmंलाई चाहिएको छ । देउवा हुन् वा पौडेल, दुवैलाई सत्ता चाहियो र पार्टी पनि चाहियो, तर केवल आफ्नै लागि । सिद्धान्त हराएको, नैतिकतामा खडेरी लागेको, पार्टी विधान ‘गाजरको बाँसुरी’ भने झैँ मन लागे बजाउने, खान मन लागे चपाउने साधन झैँ भएको अवस्थामा निष्ठा र समर्पणभावले उठेका कर्मठ र इमानदार कार्यकर्ताहरू उकुसमुकुस अनुभव गर्न थाल्छन् । कांग्रेस हुनलाई बुद्धि नचाहिनेजस्तो भइसक्यो ।

पार्टीमा विवेक र स्वाभिमान मुच्र्छित भएपछि अरौटेपन, भरौटेपन, कुरौटेपन र पछौटेपनको दबदबाले ढाक्न थाल्छ । ‘कार्यकर्ता’ हरू ढोकाढोका चहारेर ‘मन्थरावृत्ति’ गर्दै आफू ‘खाँटी कांग्रेस’ भएको नौटंकी देखाउन पुग्छन् । फलस्वरूप गणतन्त्र कार्यान्वयन गर्ने र संविधानसभाबाट संविधान जारी गर्न कुशल समन्वय तथा नेतृत्व गरेको पार्टी २०६४ देखि यता प्रतिरक्षात्मक अवस्थामा बस्नुपरेको छ ।

सच्चिने कि सक्किने बाटो ?
कांग्रेसलाई आफूले तयार गरेका पोशाक र इतिहासले सुशोभित गरिदिएको प्रतिष्ठा र पहिचानका विभूषण तथा अलंकारसमेत त्यागेर सत्ताको लागि नांगो रूपमा हिँड्न सुहाउँदैन । यसले २०४८ सालमा सर्वप्रथम आफ्नो प्रजातान्त्रिक समाजवाद त्याग्यो । नागरिक अगुवा एवं अर्थशास्त्री डा. देवेन्द्रराज पाण्डेले गरेको टिप्पणी सान्दर्भिक छ, ‘२०४८ उपरान्त समाजवादी भनिएको कांग्रेसले जुन आर्थिक उदारीकरणको नीति लियो, हामीलाई चोट लागेको त्यहाँ हो । ती उद्योगको निजीकरण गर्ने भनियो, तर भएन । निजीकरण गरेको भए त उद्योग चल्थे । तर, यहाँ उद्योग सखाप भए । मैले नै समर्थन गरेका बहुदलवादी नेताले यस्तो काम गरिदिए । म दुःखी छु ।’

कांग्रेसका अग्रज नेताहरूलाई पार्टी भए पुगेको थियो, छुट्टै चाहिएको केही थिएन । आजका नेताहरूलाई सबै कुरा आफैँलाई चाहिएको छ । देउवा हुन् वा पौडेल, दुवैलाई सत्ता चाहियो र पार्टी पनि चाहियो, तर केवल आफ्नै लागि ।

जहाँ नैतिकता मरणासन्न हुन्छ, त्यहाँ विचारको विजोग हुन्छ । बीपी भन्नुहुन्थ्यो, ‘सत्यको मुख थुनिदियो भने मिथ्याको थुतुनो उघ्रिन्छ ।’ अराजक प्रवृत्तिबाट निर्देशित राजनीति कदापि सदाचारी हुँदैन । जुन पार्टीमा उसैको इतिहासको कसीले खारिएका विचारधारा, नीति र सिद्धान्तकै हत्या हुन्छ, त्यस पार्टीको भविष्य बाँकी रहँदैन । कांग्रेसमा यो डर जनता वा कार्यकर्ताका कारणले उठेको होइन, नेताहरूको जुँगाको लडाइँको दुष्परिणामबाट पैदा भएको हो । केन्द्रीय नेतृत्व पंक्तिको नियत र कार्यशैलीमा आमूल परिवर्तन नआई यस पार्टीले अगाडिको बाटो पाउने छैन ।

नेपाली कांग्रेसका लागि अब एउटा भूमिका र एउटा कर्तब्य पूरा गर्नुबाहेक अर्को उपाय देखिन्न । प्रतिनिधिसभाका ८९ सांसदहरूले संसदमा हाजिर गरेर ‘मानो पकाउने’ र टाप ठोक्ने होइन, बैठकमा पूरै समय बसेर सरकारका गतिविधिमाथि निगरानी गर्ने, गलत निर्णय र क्रियाकलापलाई भण्डाफोर गर्दै विरोधलाई सशक्त बनाउने, कमजोर गठबन्धनले बनेको सरकार उसकै कारणले बीचैमा भत्किएमा देशको जिम्मेवारी सम्हाल्न तयार राख्ने हो । कर्तव्य पूरा गर्ने कार्यमा पार्टी संगठनलाई देशब्यापी रुपमा बलियो बनाउने, शक्ति सञ्चय गर्ने, पार्टी विधानको अक्षर र भावना अनुरुप पार्टी सञ्चालन गर्ने र कसैको वैशाखी सहारा नलिई आफ्नै बुतामा मुलुक र लोकतन्त्रको नेतृत्व गर्नसक्ने हैसियतको पुनर्वहाली गर्ने हो । यति भएमात्र कांग्रेसको भविष्य सशक्त हुनेछ । नत्र इतिहास र परिस्थिति कठोर नै हुन्छ ।

(समय सान्दर्भिक लेख भएकोले यसलाई हामीले हिमालय टाइम्सबाट लिएका हौं ।)