काठमाडौं । कम्बोडियाको एउटा होटल क्यासिनोमा भएको आगलागीमा परेर नेपालको पूर्वी झापा बिर्तामोडका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएपछि अहिले झापाको बिर्तामोड शोकमा डुबेको छ ।
बिर्तामोड नगरपालिका वार्ड नं १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेका माइला छोरा निराकारको मृत्यु भएको हो । जब आफुले काम गरिरहेको क्यासिनो भवनमा आगलागी हुन थाल्यो तब उनले मृत्यु आँखाअघि देखे । उनले घरमा भाइबरमा भिडियो कल गरे र परिवारका सदस्यहरूलाई घटनाबारे सुनाए । आफू रहेको कोठाबाट हाम फाल्न बाहेको अर्को विकल्प नभएको उनले नेपालमा भएका आफ्नो परिवारका सदस्यलाई सुनाएका थिए ।
तर, घरबाट त्यसो नगर्न र सहयोगका लागि अपिल गर्न सुझाएका थिए । त्यसपछि उनले आफ्नो करिब ९ वर्षको छोरालाई सम्झाए ।
‘मेरो आँखाको नानी । बाबु, तिमीलाई म धेरै माया गर्छु है । बाबा अल्वेज लभ्स यु है । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीले सँधै सम्झिनु हुन्छ है बाबा । सानु, अब सुन है । मामुलाई धेरै माया गर्नु । अग्नि बुवा, लीला मामुलाई माया गर्नु ।’ उनले भिडियो कलमा छोरालाई सम्झाउँदै भनेका थिए ।
उनले गरेको भिडियो कल सार्वजनिक भएको छ । भिडियोमा बाहिरबाट धुवाँ आइरहेको स्पष्ट देख्न सकिन्छ । बोल्दा(बोल्दै उनलाई धुवाँले निकै गाह्रो बनाएको भिडियोमा देखिन्छ ।
मृत्यु आफ्नै देखेका उनले एउटा बाबुले गर्नुपर्ने कर्तव्य गरेर यो संसारबाट बिदा भएका छन् । सानो छोरालाई ‘ठूलो मान्छे बन्नुपर्छ’ भन्दै सम्झाउने प्रयास उनले गरेका छन्।
उनले भनेका छन्, ‘सबै भन्दा ठूला कुरा राम्रो मान्छे बन्नुपर्छ है । कसैलाई चिट गर्नु हुँदैन । फ्रड गर्नु हुँदैन, गलत गर्नु हुँदैन । आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा ।’
उनले आफ्ना परिवारका सदस्यलगायत आफ्ना ससुरालीपट्टिका सबैलाई सम्झेका छन् । सबैलाई माया गर्न छोरालाई सम्झाएका छन् ।
‘मामाहरू, माइजुहरूलाई चित्त नदुखाइदिनु तिमीले । धेरै गर्नु भएको छ मामामाइजुले । लमजुङ बुवा आमाले धेरै गर्नु भएको छ । तिमी ठूलो मान्छे बन्नु, ज्ञानी बन्नु ।’ उनले छोरालाई सम्झाउँदै भनेका छन् ।
भिडियोमा उनले परिस्थिति आफ्नो बसमा नरहेको पनि संकेत गरेका छन् । निराकारले भनेका छन्, ‘मैले जे जति गरें तिम्रा लागि गरें । धेरै कोशिस गरें तर सकिन । तिमीसँग बिताएका पलहरू धेरै यादगार रहनेछन् ।’
कम्बोडियाको पोइपेटस्थित ग्रान्ड डायमन्ड सिटी क्यासिनोमा बुधवार अबेर राति लागेको आगो निभाउन १२ घण्टाभन्दा बढी लागेको थियो । सोही घटनामा निराकारको मृत्यु भएको हो ।
घटनापछि निराकारको शव लिन परिवारका सबै सदस्य काठमाडौं आएका छन् । परिवारका सदस्यहरूसँग सम्पर्क हुन सकेको छैन ।
नेपाली दूतावासले उनको शवलाई नेपाल पठाउन पहल गरिरहेको बताइएको छ ।